आइतबार, जेठ ६, २०८१

लम्पी स्किन रोगका कारण नेपालमा ‘१.२६ खर्बको क्षति हुने’

नेपालखोज २०८० असार २४ गते १०:५५

काठमाडौं । नेपालमा गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको महामारीका कारण सवा एक खर्ब रुपैयाँभन्दा बढीको क्षति हुने एउटा सरकारी निकायले अनुमान गरेको छ।

सतहत्तरमध्ये ७६ वटा जिल्लामा फैलिसकेको उक्त रोगको नियन्त्रण तथा रोकथामका लागि “आक्रामक कदम” चाल्न नेपाल पशु चिकित्सा परिषद्‌ले सम्बन्धित निकायहरूलाई सुझाव समेत दिएको छ। गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा भने अहिलेसम्म यो रोग फेला परेको पुष्टि भइसकेको छैन।

‘समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा करिब २५ लाख २६,००० पशुमा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने अनि झन्डै एक खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने देखिन्छ,’ परिषद्ले गरेको अध्ययनको निष्कर्ष छ।

यो रकम नेपालको आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको करिब ७.२ प्रतिशत हुन आउने परिषद्ले उल्लेख गरेको छ।

‘नेपालको अहिलेको वास्तविकता र परिवेशअनुसार अध्ययन गर्दै जाँदा त्योभन्दा माथि नै क्षति भएको छ भन्ने हाम्रो अनुमान हो,’ परिषद्‌का प्रवक्ता मनोजकुमार शाहीले भने।

‘अभिलेख राख्न थालिएयता नेपालमा गाईवस्तुमा यो तहको महामारी र त्यसले पारेको यो दोस्रो ठूलो असर हुनुपर्छ।’

शाहीका अनुसार नेपालको अवस्थासँग मिल्दोजुल्दो अवस्थाका देशमा लम्पी स्किनले पारेका असरबारे यसअघि भएका अध्ययन एवं विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूका प्रकाशित लेखहरूको समीक्षा गरी पछिल्लो निष्कर्ष निकालिएको हो।

यसअघि नेपालमा सन् १९४० को दशकमा गाईवस्तुमा फैलिएको ‘रिन्डरपेस्ट’ अर्थात् गगौटी रोगको महामारीले ठूलो क्षति निम्त्याएको उनी बताउँछन्। खुर हुने चौपायामा लाग्ने उक्त भाइरल रोग अहिले उन्मूलन भइसकेको छ।

परिषद्‌का सुझाव के छन् ?

कतिपय विज्ञका अनुसार सुरुमै प्रभावकारी कदम चालिएको भए त्यसले अहिलेको रूप नलिन पनि सक्थ्यो।

‘सुरुतिरै सङ्क्रमित गाईभैँसीको हिँडडुल रोक्न सकेको भए अहिले महामारी नहुन पनि सक्थ्यो,’ राष्ट्रिय पशुविज्ञान अनुसन्धान परिषद्‌का निर्देशक डा. स्वयंप्रकाश श्रेष्ठले भनेका थिए।

त्यसमा परिषद्‌का निमित्त रजिस्ट्रार शाही पनि सहमत देखिन्छन्।

‘प्रदेश अथवा सङ्घको मन्त्रालयको तर्फबाट जसरी आक्रामक रूपमा जानुपर्थ्यो, त्यो रूपमा गइरहेको देखिँदैन,’ उनले भने।

सो पृष्ठभूमिमा अध्ययनपछि परिषद्‌ले सम्बन्धित निकायहरूलाई केही सुझाव समेत दिएको छ।

तत्काल चाल्नुपर्ने कदमबारे परिषद्‌का यस्ता सुझाव छन् –

  • -तत्कालका लागि लम्पी स्किन रोग नियन्त्रण आदेश जारी गरी प्रभावकारी रूपमा उपचार, रोकथाम तथा नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाउने
  • -प्रतिकार्यका क्रियाकलापलाई थप समन्वय तथा संयोजन गर्न सङ्घीय स्तरमा लम्पी स्किन कन्ट्रोल रूम स्थापना गर्ने
  • -सङ्क्रमण देखिएका सबै स्थानीय तहमा कम्तीमा एक पशुचिकित्सक र पशुस्वास्थ्य प्राविधिकको टोलीसहित र्‍यापिड रेस्पोन्स टीम अविलम्ब परिचालन गर्ने
  • -सङ्क्रमणदर उच्च देखिएका जिल्लाहरूमा पर्याप्त औषधि राख्ने
  • -रोग थप फैलिन नदिन भौगोलिक रूपमा महत्त्वपूर्ण मानिएका स्थान तथा हालसम्म पशु क्वारन्टीन चेकपोस्ट नभएका प्रदेशमा स्थापना गर्ने

क्षतिपूर्तिबारे विभाग के भन्छ ?

पशुचिकित्सा परिषद्‌का अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ।

ठूलो क्षति बेहोरे पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरूले गुनासो गर्दै आएका छन्।

तर सरकारले महामारी घोषणा गरेर क्षतिपूर्ति दिने घोषणा गरिनसकेको अवस्था ‍रहेकोले पशुबीमा गराएका किसानहरूले त्यहीँबाट रकम पाउने विभागका प्रवक्ता ढकाल बताउँछन्।

‘पशुबीमा गराएका किसानहरूको हकमा बीमा कम्पनीहरूले रकम दिनुपर्ने हुन्छ,’ उनले थपे। –BBC

प्रतिक्रिया