मोटोपन जसले निम्त्याउँ यस्ता प्रकारका क्यान्सर

के तपाईंलाई थाहा छ ४० वर्ष भन्दा कम उमेरको मोटोपन १८ प्रकारको क्यान्सरसँग सम्बन्धित छ ? स्पेनका २६ लाख ५० हजार वयस्कमा गरिएको एक अध्ययनमा यो आश्चर्यजनक जानकारी सार्वजनिक भएको हो जसको नतिजा नेचर कम्युनिकेसन्स नामक अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ ।हामी सबैलाई थाहा छ कि बढ्दो तौल र मोटोपन असंख्य रोगहरूसँग सम्बन्धित छ ।
मोटोपन र तौल वृद्धि अर्थात् बडी मास इन्डेक्सको असन्तुलन स्तन, आन्द्रा, मिर्गौला, प्रोस्टेट, पेट, प्यान्क्रियाटिक आदि १३ प्रकारका क्यान्सरहरूसँग सम्बन्धित छ । यो कुरा यसअघिका अनुसन्धानहरूमा पनि पुष्टि भएको थियो तर यो नयाँ अध्ययनले बढी तौल र मोटोपनले त्यस बाहेक ल्युकेमिया, नन/हजकिन लिम्फोमा (एनएचएल), टाउको, घाँटी र रगतको क्यान्सर आदि निम्त्याउने देखाएको छ । यसले कहिल्यै धुम्रपान नगर्ने मानिसहरूमा पनि क्यान्सर हुन सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार यी क्यान्सरहरू पहिले मोटोपनसँग सम्बन्धित थिएनन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार २५ भन्दा बढी बडी मास इन्डेक्स (बीएमआई) भएका व्यक्तिलाई ‘अधिक तौल’ भनिन्छ । अर्कातर्फ बीएमआई ३० भन्दा बढी छ भने मोटो मानिन्छ। मोटोपन एक प्रकारको रोग हो जसले शरीरका अधिकांश प्रणालीहरूलाई असर गर्छ ।
यसले मुटु, कलेजो, मृगौला, जोर्नी तथा प्रजनन प्रणालीलाई असर गर्ने धेरै गैर सरुवा रोगलाई पनि जन्म दिन्छ । जसका कारण टाइप टु मधुमेह, मुटुरोग, उच्च रक्तचाप, पक्षघात, क्यान्सरका साथै मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्छ । अनुसन्धानले के पनि पत्ता लगाएको छ भने मोटा मानिसहरू कोभिडका कारण अस्पतालमा भर्ना हुने सम्भावना तीन गुणा बढी हुन्छ ।
डब्लुएचओले जारी गरेको तथ्यांकअनुसार विश्वमा १९० करोडभन्दा बढी वयस्क बढ्दो तौलको समस्याबाट ग्रसित छन् भने ६५ करोड मानिस मोटोपनबाट पीडित छन् । हेर्ने हो भने सन् १९७५ यता विश्वभर मोटोपनको समस्या तीन गुणा बढेको छ । बास्तवमा यो समस्या महामारीका रुपमा बढिरहेको छ । यही समस्याका कारण वर्षेनी ४० लाख मानिसको मृत्यु हुने अनुमान पनि छ ।
आफ्नो अध्ययनका लागि अन्वेषकहरूले क्याटालोनिया, स्पेनमा ४० वर्ष भन्दा कम उमेरका २६ लाख भन्दा बढी वयस्कको स्वास्थ्य तथ्यांक जाँच गरे। यी सबै मानिस सन् २००९ मा क्यान्सरमुक्त भएका थिए । त्यसैगरी नौ वर्षसम्म उनीहरुको स्वास्थ्य अनुगमन गर्दा ति मध्ये २ लाख २५ हजार ३ सय ९६ जना क्यान्सरको सिकार भएको पाइएको थियो ।
अन्वेषकहरूका अनुसार तौल र क्यान्सरबीचको सम्बन्ध जाँच गर्ने अघिल्लो अनुसन्धानले अध्ययनको सुरुमा एक पटक बीएमआई ९बडी मास इन्डेक्स० मापन गर्नमा केन्द्रित थियो। जसले अध्ययनमा समावेश भएका व्यक्तिहरूमा बीएमआईको हालको स्थितिका बारेमा जानकारी प्रदान गर्छ ।
यो अध्ययनको नतिजाले युवावस्थामा अर्थात् ४० वर्ष वा सोभन्दा कम उमेरमा बढी तौल भएका र मोटो भएका व्यक्तिहरूलाई क्यान्सरको जोखिम बढी हुने देखाएको छ । यति मात्र होइन लामो समयदेखि बढ्दो तौल र मोटोपनको सिकार भएका व्यक्तिहरूमा पनि यो जोखिम रेकर्ड गरिएको थियो । यो अध्ययनको नतिजाले क्यान्सरलाई रोक्न सार्वजनिक स्वास्थ्य रणनीतिहरूको रूपमा विशेष गरी युवाहरूमा अधिक तौल र मोटोपन रोकथामको महत्त्वलाई जोड दिन्छ ।
स्रोत : एजेन्सी
यो लेखमा उल्लेखित सल्लाह – सुझाव सामान्य जानकारी दिने उद्देश्यले प्रस्तुत गरिएका हुन् । यसलाई व्यावसायिक चिकित्सा सल्लाहका रूपमा लिनु हुँदैन । यदि यस बिषयमा कुनै प्रश्न वा चिन्ता छ भने चिकित्सकसँग प्रत्यक्ष परामर्श गर्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया