मंगलबार, वैशाख १६, २०८२

सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपुर्ण चामे

भगवान खनाल २०८० असार २५ गते ५:५९

जिल्लाको सदरमुकामको रूपमा चामे वि.सं २०२६ मा स्थापित भएको हो। यसभन्दा अघि लमजुङको कुन्छा, त्यसपछि बाहुनडाँडा हुदै मनाङकै थोचेमा समेत सदरमुकाम बसेको थियो।  स्थानीय बुद्धिजीवी, समाजसेवा तथा भूतपूर्व जनप्रतिनिधिहरूका अनुसार ‘चामे’ शब्द ‘चामेन’ शब्दबाट अपभ्रंश हुँदै बनेको पाइन्छ। चामेनलाई छिटोछिटो उच्चारण गर्दागर्दै चामे हुन गएको उनीहरूले बताए। मनाङ भन्दा बाहिरबाट आउने शिक्षक, कर्मचारीहरूले चामेन शब्दलाई उनीहरूको लबज अनुसार र छिटोछिटो उच्चारण गर्दा चामे हुन गएको चामे गाविसका भूतपूर्व अध्यक्ष तथा चामे जिविसका भूतपूर्व उपसभापति साङ्दो लामा बताउँछन् ।

लामा भाषामा ‘चा’ को अर्थ घाँस र ‘मेन’ को अर्थ औषधि हो। सबै किसिमका घाँस पाइने र पोषिलो किसिमका घाँस पाइने जनश्रुति थियो। हिउँदयाममा घोन्दुर (याक लगायतका जनवारलाई हिउँमा खुवाइने पोषिलो घाँस) खुवाउँदा याक मोटा हुने र बोसो हुने जनश्रुति थियो । यस क्षेत्रमा जडिबुटी जस्तै यार्चागुम्बा, निरमसी, सतुवा, पाँचऔंले, वनलसुन लगायत पनि पाइन्छ। पर्यटन, जडिबुटी र जलस्रोतको खानीको रूपमा रहेको चामे कृषिमा पनि अग्रणी छ। स्याउ, फापर, आलु, जौ खेती हुने गर्दछ। २०७८ सालको जनगणना अनुसार चामेको घरधुरी ३८९ रहेको छ जसमा डेराभाडामा बस्नेहरू समेतलाई गणना भएको छ। यसैले चामेको वास्तविक घरधुरी सङ्ख्या उक्त तथ्याङ्क भन्दा कम रहेको छ ।

चामेका क्षेत्रफल १००६.७४ हेक्टर वर्ग किलोमिटर रहेको छ जसमा ३२.०४ हेक्टर जमिन खेतीयोग्य, १००।८८ हेक्टर पाँचौं तह जमिन रहेको छ। यसैगरी ५०७.५९ हेक्टर क्षेत्र जंगल, ३४६.८५ हेक्टर चरण क्षेत्र र १९.३३७ हेक्टर जमिन सरकारी जमिन रहेको छ। चामे गाउँपालिकाका  तिमाङ‚थानचोक, कोतो, चामे नयाँबजार र पारी चामे गरी ५ बस्तीमा पाँच ओटा वडा कार्यालयहरू छन्। गाउँकार्यपालिकाको कार्यालय वडा नं. ४ नयाँबजारमा छ।। वि.सं. २०७८ को जनगणना अनुसार १२७६ जनसंख्या मध्ये पुरूष, ७३० (५७.२ प्रतिशत), महिला: ५४६ (४२.८ प्रतिशत ) छ । यस गाउँपालिकाको पूर्वमा नासोँ गाउँपालिका, पश्चिममा मनाङ निस्याङ गाउँपालिका, उत्तरमा नार्पाभूमि गाउँपालिका तथा दक्षिणमा कास्की जिल्लाको मादी गाउँपालिकासँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले नेपालको उत्तरी हिमाली भागमा रहेको चामे गाउँपालिका तिब्बतसँगको सिमाना नजिक पर्ने भएकोले सांस्कृतिक पक्षमा तिब्बतीय प्रभाव पाउन सकिन्छ ।

यहाँ हिन्दु, तिब्बती बौद्ध धर्ममा आधारित संस्कार र रीतिरिवाज प्राचीनकालदेखि चलिआएको पाइन्छ। विविध सांस्कृतिक तथा प्राकृतिक सम्पदाले चामे उत्कृष्ट पर्यटकीय गन्तव्य हो। यस गाउँपालिकाको अर्थतन्त्रको प्रमुख पाटोको रूपमा कृषि, पर्यटन साथै जलविद्युतको प्रचुर सम्भावना छ। यहाँ व्यावसायिक रूपमा कृषिको प्रवद्र्धन गर्नु आवश्यक छ। उच्च भेगमा उत्पादन गरिने आलु, खाप्से, फापर, कोलो, सिस्नोका साथै स्याउ, ओखर आदिको व्यावसायिक रूपमा उत्पादनमा बृद्धि तथा स्थानीय र उन्नत जातका बाख्रा, च्याङ्ग्रा, चौरी, याकपालन गरी स्थानीय अर्थतन्त्र चलायमान गर्न सकिने सम्भावना छ। वर्षायाममा बाढीपहिरो कारण सडक अवरूद्व हुने तथा जाखिमपूर्ण पैदल यात्रा गर्नु पर्ने बाध्यता छ ।

गाउँपालिकाले ‘समृद्धि र विकासको द्वार: पर्यटन, कृषि र जलश्रोत मुल आधार’ भन्ने नारा लिएको छ।  यहाँका प्रसिद्ध स्थलहरूमा काजीनसारा ताल, चेम्या भ्युटावर, तातोपानीकुण्ड, वडा ३ (कोतो गुम्बा), ४(माडा गुम्बा) र ५ (चेमे गुम्बा) मा रहेको तीन ओटा गुम्बाहरू, चामे बेसक्याम्प आदि रहेका छन्। यहाँका मुख्य पूर्वाधारको अवस्थामा चामे आउने मख्य सडकमार्ग रहेको छ। यसैगरी चामेका विभिन्न वस्ती तथा वडाहरू जाने सडक पनि रहेको छ। चामेमा दुईओटा ठाडो खोलामा दुईओटा कोठेपुल रहेको छ भने चामे प्रवेश गर्नुअघि पनि काठेपुलहरू रहेका छन्। साँघुरो सडक, अप्ठेरो भूगोलमा सडक पुर्‍याउने जटिल कार्य नेपाली सेनाले गरेको हो ।

अग्ला र ठूल्ठूला पत्थरहरू काटेर चामेमा बाटो पुगेको छ भने चामेभन्दा माथि मनाङनिस्याङ गाउँपालिकाको खाङसारसम्म सडक पुगेको छ। खाङसारसम्म पुग्न गाडीमा बेशिसहरदेखि ७ घण्टा समय लाग्छ भने हालको जीप भाडा तीन हजार रूपैयाँ। खाङसारदेखि तिलिचो ताल पुग्न पैदल दुई दिन लाग्छ। खाङसारसम्म पहिलो दिन बेसक्याम्प पुगेर बस्ने र भोलिपल्ट बिहानै उठेर तिलिचो तालको यात्रा गर्न सकिन्छ। चामेमा गाडी पुगेको १०/११ वर्ष भयो भने खाङसारमा ५/६ वर्ष। बेशिसहर—चामे सडकमा करिब ५० वटा जति जीप पर्यटकीय मौसममा दिनहुँ गुड्छन् भने बेमौसममा १०/१५ वटासम्म ।

यहाँ चल्ने आधा जीपहरू जीपका साहुजीले नै चलाउँछन्। जीप चलाउँदा चलाउँदा आधाजति जीप चालक साहु भैसकेका यस रूटमा ६ वर्षभन्दा बढी जीप चलाएका कुमार श्रेष्ठ बताउनुहुन्छ। “पहिले अर्काका गाडी चलाउनेहरू मध्ये आधा आफ्नै गाडी चलाउँछन्,” श्रेष्ठले भन्नुभयो। यो सडक नेपाली सेनाले खोलेको हो। ४/५ वर्षपछि त चामेमा माइक्रोबस समेत चल्ने सपना देख्नुभएको छ चामे गाउँपालिका अध्यक्ष घलेले। सडक स्तारोन्तति हुँदै गएपछि माइक्रोबस चल्ने सम्भावना बृद्धि हुँदै गएको छ। चामेमा चारचक्के ट्रक समेत पुगेका छन्। बाटो खन्ने मेसिन, ट्याक्टर, स्कारपियो जीप र अन्य फोरह्विलर जीप चल्छन्। मनाङमा पर्यटकहरू मनसलु हिमालको काखैकाख लार्केपास गरेर थोरङ्ला पास हुँदै मुस्ताङ जान्छन् भने कोही थोरङ्ला पास हुँदै चामे आइपुग्छन्। पुरानो पर्यटन मार्ग मासिदै गएकोले सडकैसडकै पैदलयात्रा गर्नेहरू पनि बाटो भरि भेटिन्छन् मुख्य सिजनमा।

चामेमा चामे साना लघुजलविद्युत परियोजना, स्याक्र्यू खोला लघुजलविद्युत र केन्द्रीय प्रशारणको विद्युत समेत जडान भएको छ । चामे बजारको मुख्य खानेपानीको स्रोतमा घट्टेखोला हो भने पाखो जमिनमा खानेपानीको पाइप र कतैकतै पक्की कुलोबाट सिंचाइ गरिन्छ। गाउँपालिकाले हाल बसपार्क, सिटीहल र कोल्डस्टोर समेत बनाइरहेको छ। गाउँपालिकामार्फत् फोहरको व्यवस्थापन भइरहेको छ। यहाँ ठूला उद्योग तथा कलकारखाना छैन तर एक पानी उद्योग पनि केही समय सञ्चालनमा रहेको थियो। यहाँको कोतो बजार हुदै छिमेकी नार्पाभूमि गाउँपालिका (नार र फू वस्ती) मा जान सकिन्छ। नार्पाभूमिमा हालसम्म सडक नपुगेकोले खच्चडले मानवीय जीवनमा चाहिने र विकास निर्माणमा चाहिने केही सामग्रीको समेत ढुवानी गर्छ । INS

प्रतिक्रिया