शुक्रबार, जेठ ४, २०८१

उत्तर भारतमा बाढीपहिरो, २९ जनाको मृत्यु

नेपालखोज २०८० असार २५ गते २०:२९

नयाँदिल्ली । उत्तरी भारतमा भीषण वर्षासँगै आएको बाढी पहिरामा परी कम्तिमा २९ जनाले ज्यान गएका छन् भने कैयौँ घाइते भएका छन् । बाढी पहिराका कारण पुलपुलेसा भत्किएका छन्, सडक अवरुद्ध भएका कारण धेरै क्षेत्रहरू अगम्य बनेका सरकारी अधिकारीहरूले बताएका छन् ।

टेलिभिजन फुटेजमा सबैभन्दा बढी प्रभावित क्षेत्र हिमाचल प्रदेशको पहाडी भेगमा मूसलधारे वर्षाका कारण आएको बाढी र पहिरो, सवारीसाधन बगाएको, भवन र पुलहरू भत्काएको देखाइएको थियो । ‘विगत दुई दिनमा, हिमाचल प्रदेशमा मनसुनको वर्षाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ,’ राज्यको प्रकोप व्यवस्थापन प्रमुख ओमकार शर्माले भनेका छन् । राजस्थान, उत्तर प्रदेश, उत्तराखण्ड र कश्मीरका हिमाली क्षेत्रहमा थप नौ जनाले ज्यान गुमाएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार हिमाचल प्रदेशको लाहौल–स्पीति र कुल्लुका क्षेत्रहरूमा पर्यटकसहित करिब तीन सय जनाई उद्धार गर्न हेलिकप्टर पठाउने प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण उडान गर्न सकिएको छैन । यसैबीच, एएनआईका अनुसार पञ्जाब, उत्तराखण्ड र हिमाचल प्रदेशका बाढीपीडितलाई सघाउन राष्ट्रिय आपद् प्रतिकार्य बल (एनडीआरएफ) ११ टोली तैनाथ गरिएका छन् ।

लगातार तेस्रो दिनको वर्षाले यी राज्यमा उद्धार तथा राहतका काम सहजतापूर्वक सञ्चाल गर्न सकिएको छैन । तर एनडीआरएफका कर्मचारीले हरसंभव काम गरिरहेका छन् । वर्षाका बीच र राति पनि उद्धारलाई जारी राखिएको, पीडितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी राज्य प्रशासनका उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानीमा राहत सामग्री प्रदान गरिएको छ । अलपत्र परेका मानिसहरूलाई पनि एनडीआरएफका जवानले उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया