सोमबार, वैशाख १७, २०८१

भारतमा पहिरो परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

नेपालखोज २०८० असार २६ गते २०:२८

काठमाडौं । विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतमा पहिरोमा परी तीन नेपाली नागरिकको निधन भएको छ । हिमाञ्चल प्रदेशमा रोजगारी तथा अन्य सिलसिलामा रहेका नेपाली नागरिकसमेत बाढीबाट प्रभावित भएका एवं पश्चिम रुकुम जिल्लाका एकै परिवारका तीन जनाको पहिरोमा परी निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

निधन भएका नेपाली नागरिकप्रति राजदूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । बाढी प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहायता तथा समन्वय गर्नको लागि भारत सरकार, हिमाचल प्रदेश सरकार त्यहाँ कार्यरत गैरसरकारी संस्था तथा नेपाली समुदायसँग राजदूतावासले निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।

हालको बाढी पहिरोको प्रभाव कम नहुँदासम्म प्रभावित क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन राजदूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गरेको छ । भारी वर्षाका कारण कुनै पनि नेपाली नागरिक अप्ठेरो स्थितिमा रहेको जानकारी प्राप्त भएमा राजदूतावासको हटलाइन नं ८९२९६०१९२५ मा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

विगत केही दिनदेखि परेको अत्यधिक वर्षाको कारण भारतको उत्तरी क्षेत्र खास गरी हिमाचल प्रदेशको सबैजसो भाग र अन्य राज्यमा समेत बाढी तथा पहिरोमा परी धनजनको क्षति भएको जानकारी प्राप्त भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए छ । भारतको केन्द्रीय सरकार र राज्य सरकारद्वारा उद्धारका कार्य तीव्र गतिमा सञ्चालन भइरहेको समाचार प्रसारण भएका छन् ।

प्रतिक्रिया