बुधबार, जेठ २, २०८१

तीन हजार सात सय घर उच्च जोखिममा

नेपालखोज २०८० असार २८ गते ११:०६

काभ्रे । काभ्रेपलाञ्चोकमा यस वर्षको ‘मनसुनजन्य विपद्’मा तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेका छन् । सबै भदा बढी मण्डनदेउपुर नगरपालिकाका बासिन्दा जोखिममा रहेको अनुगमन तथा निरीक्षणको तथ्याङ्कले देखाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाद्वारा प्रस्तुत विपद् तथा जोखिम वर्गीकरणमा जिल्लाका तीन हजार सात सय ५७ घर उच्च जोखिममा रहेको जानकारी दिइयो ।

सबैभन्दा बढी मण्डनदेउपुर नगरमा सबैभन्दा बढी सात सय ८५ र सबैभन्दा कम बेथानचोक गाउँपालिकामा एक सय ४८ घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह रहेका छन् ।

प्रस्तुत तथ्याङ्कअनुसार धुलिखेल नगरपालिकामा तीन सय २०, बनेपामा दुई सय ५९, पनौतीमा दुई सय छ, पाँचखालमा एक सय ५८, नमोबुद्धमा दुई सय ५० घर प्राकृतिक प्रकोप बाढी–पहिरोको उच्च जोखिममा रहेका हुन् ।

यस्तै खानी खोला गाउँपालिकाको दुई सय २२, रोशीका तीन सय ४५, तेमालका तीन सय आठ, चौंरीदेउरालीका दुई सात, भुम्लुका तीन सय नौ र महाभारत गाउँपालिकाको दुई सय २० घर विपद्जन्य घटनाको उच्च जोखिममा रहेको पाइएको छ ।

मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्व तयारी अवस्थामा रहन जिल्लास्थित स्थानीय तहलाई निर्देशन दिइएको छ । समितिले बाढी, डुबान तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गर्ने, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सहजीकरण गर्न आग्रह गरेको छ ।

साथै, अत्यावश्यक आवश्यक खाद्य तथा गैर खाद्य सामग्री भण्डारण गर्ने, बाढीको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ–दाउरा सङ्कलन गर्नेजस्ता कार्यलाई निषेध गर्ने, महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भई उच्च जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्ने गरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पोडेलले बताए । उनका अनुसार स्थानीय तहमा सामुदायिक विपद् प्रतिकार्यका लागि थप जनशक्ति तयार पार्न तालिम प्रदान गरिने छ ।

गत जेठमा जिल्लास्थित नेपाली सेनाको कालीजङ्ग गणले चार दिने तालिममार्फत सामुदायिक विपद् प्रतिकार्यका लागि जिल्लाको १० स्थानीय तहमा ८० विपद् प्रतिकार्य जनशक्ति तयार पारेको छ । 

तालिममा ‘विपद्को परिचय र विपद् व्यवस्थापन चक्र, विपद् प्रतिकार्यको लागि आवश्यक सामग्री, सीप तथा कला, बाढी,–पहिरो, डुबान, आगलागीजस्ता विपद्का घटनाको दौरान उद्धार गर्ने तरिका, प्राथमिक उपचार, स्थानीय स्रोत–साधनको प्रयोग गरी विपद् प्रतिकार्य गर्ने विधि र विपद्को समयमा आधुनिक उपकरणको प्रयोगका बारेमा जानकारी गराइएको गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताए । काभ्रेपलाञ्चोकका अधिकांश भू–भाग पहाडी क्षेत्र, जिल्ला भएर बग्ने तीन ठुला नदी विपद्को हिसाबले जोखिमयुक्त मानिन्छ ।

यसअघिका महिनामा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पूर्वतयारीस्वरुप सुरक्षा निकायले उद्धारको पूर्वाभ्यास गरेका थिए । सशस्त्र प्रहरी बल नेपालको नं १५ गण हेडक्वाटर काभ्रेपलाञ्चोक र १६ नं गण सिन्धुपाल्चोक गरी दुई जिल्लाका सशस्त्र प्रहरीद्वारा काभ्रेपलाञ्चोकस्थित सुनकोसी नदीमा गत जेठमा उद्धारको पूर्वाभ्यास गरेका थिए भने नेपाली सेनाको धुलिखेलस्थित कालीजङ्ग गणले ‘मनसुन–३’ नामकरण गर्दै गत वैशाख अन्तिम साता सोही स्थानमा सोही प्रकृतिको अभ्यास गरेको थियो ।

चालु आर्थिक वर्षको हालसम्ममा काभ्रेमा चार सय २४ जना विपद्मा परेको तथ्याङ्क छ । यसमध्ये पहिरो, आगलागी, चट्याङ, हावाहुरी, करेन्ट तथा दुर्घटनाबाट ५९ जनाको मृत्यु भएको थियो । तीन सय ७७ जना घाइते भएका थिए भने सुरक्षाकर्मीले ३३ जनाको उद्धार गरेका थिए ।

प्रतिक्रिया