बुधबार, जेठ २, २०८१

सीमा हैदर र सचिन मीणाको विवाहमा नेपाल कनेक्सन 

नेपालखोज २०८० असार २८ गते १४:५७

काठमाडौं । भारत र पाकिस्तानमा अहिले सर्वाधिक चर्चा र विवादमा रहेको भारतीय हिन्दु सचिन तथा पाकिस्तानी मुस्लिम महिला सीमा हैदरको विवाह काठमाडौं स्थित सुप्रसिद्ध पशुपतिनाथ मन्दिरमा भएको बताइदैछ ।

चार छोरा छोरीकी आमा सीमा पब्जी खेल्ने क्रममा सचिनको प्रेममा परेपछि पाकिस्तानबाट शारजहाँ हुँदै टुरिस्ट भिसामा १० मार्च २०२३ का दिन काठमाडौं आएकी थिन् ।

भारतबाट आएका सचिनसहित उनीहरू नयाँ बसपार्क स्थित न्यु विनायक होटलमा दैनिक आठ सय रुपियाँको कोठामा बसेका थिए । 

प्रेमको लागि पहिलो उडान

सीमा हैदरले आफ्नो प्रेम भेट्न नेपाल रोजेकी थिइन् तर यो रोज्नुको पछाडि एउटा खास कारण थियो ।

सीमा भन्छिन्, ‘हामीले दुबईमा पनि भेट्न सक्थ्यौं, तर सचिनसँग राहदानी थिएन । भारतका मानिसहरू बिना पासपोर्ट नेपाल जान सक्छन् भन्ने थाहा भयो त्यसैले हामीले नेपालमा भेट्ने निर्णय गर्‍यौं।

भेटघाटको समय र स्थान तय गरेपछि सीमा नेपालको पर्यटक भिसा लिएर शारजाह हुँदै काठमाडौं आइन् ।

सीमा भन्छिन्, ‘पहिलो पटक २०२३ मार्च १० मा पाकिस्तान छोडेर साँझ काठमाडौं पुगेँ । म पहिलो पटक विमानमा गएको थिएँ । जब विमान उड्यो, म पूरै बहिरो भएँ।’

‘कान दुख्नुको कारण थाहा पाउन सकिनँ | मसँगै बसेका मानिसहरूलाई सोधेँ, कानमा किन दुखेको हो ? तर उनीहरूले भने, सामान्य कुरा हो, विमान उड्दा दुख्छ।’

नेपालमा बिहे, हिन्दू बनिन्

सचिन काठमाडौं पुगेर सीमालाई पर्खिरहेका थिए। नयाँ बसपार्क क्षेत्रस्थित एउटा होटलमा कोठा भाडामा लिएका सचिनले भाडा बापत दैनिक ५ सय रुपैयाँ होटल मालिकलाई बुझाउँथे।

यस अवधिमा सीमा हैदरको इन्स्टाग्राममा यस्ता धेरै भिडिओ छन् जसमा दुवैजना काठमाडौंमा घुमिरहेको देखिन्छ। यसै क्रममा उनीहरूले जीवनको ठूलो निर्णय लिएका हुन्।

सीमा भन्छिन्, ‘हामीले चैत १३ गते काठमाण्डूको पशुपतिनाथ मन्दिरमा विवाह गर्‍यौँ। एकजना ट्याक्सी चालक भाइको सहयोगमा हामी बिहे गर्न सफल भयौँ। हामीसँग भिडिओ पनि छन्…म आफैँले हिन्दूधर्म अवलम्बन गरेकी हुँ। मलाई कसैले दबाव दिएको होइन।’

‘भिडिओमा गुलाम हैदर (सीमाका पति)ले मेरो दिमाग खराब भएको भनिरहेका छन्। यो कसैले भनेर मैले गरेकी होइन, म आफ्नै इच्छाले आएकी हुँ। म सचिनको प्रेममा आएकी हुँ। मैले प्रेममा हिन्दू धर्म स्वीकार गरेँ।’

बिहे त भयो तर सीमा भारत आउन सकिनन्। किनभने कराँचीमा चार सन्तान उनको पर्खाइमा थिए।

उनी लाहोरस्थित दरगाह जाने बहानामा सचिनलाई भेट्न नेपाल आएकी थिइन्।

प्रेममा घर बेचिन्

सीमा पाकिस्तान त फर्किइन्। तर उनको मन त्यहाँ लागिरहेको थिएन।

त्यसको दुई महिनापछि सीमाले आफ्ना छोराछोरीसहित सधैँका लागि पाकिस्तान छोड्ने निर्णय गरिन्।

सीमा भन्छिन्, ‘मसँग त्यति पैसा थिएन। मेरो नाममा एउटा घर थियो, जुन मैले १२ लाखमा बेचेँ। आफ्नो र मेरा छोराछोरीका लागि नेपालको भिसामा करिब पचास हजार रुपैयाँ खर्च भयो।’

यसपालि सीमाले नेपालबाट स्थलमार्ग भएर भारत जाने सोचेकी थिइन्। सीमाले मे १० तारिखका दिन यात्रा गर्ने तय गरिन्।

त्यो नम्बर आफ्ना लागि फाप्ने उनलाई लाग्यो। किनभने त्यसअघि सचिनसँग उनले मार्च १० तारिखमा पहिलो पटक भेटेकी थिइन्।

सीमा भन्छिन्, ‘दोस्रो पटक आउन सजिलो भयो। किनकि एन्ट्री, एक्जिट र कनेक्टिङ फ्लाइटबारे मलाई ज्ञान भइसकेको थियो। मे ११ मा म काठमाण्डू पुगेँ। त्यहाँबाट पोखरा गएँ र राति त्यहीँ बसेँ।’

‘मे १२ तारिख बिहान ६ बजे बालबच्चासहित म दिल्ली जाने बस चढेँ। मैले श्रीमान्‌को रूपमा सचिनको नाम लेखाएकी थिएँ। टिकट काट्नेले सचिनसँग फोनमार्फत् कुरा पनि गरे। मे १३ तारिखको बिहानको ११ बजेतिर हामी ग्रेटर नोएडा पुग्यौँ।’

त्यहाँ सचिनले उनीहरूलाई पर्खिरहेका थिए। उनीहरू रबूपुरा पुगे। सीमाका अनुसार सचिनले राम्रोसँग ठेगाना बताएका थिए।

‘सीमामा सुरक्षाकर्मीले धेरै सोधपुछ गरे अनि झोलाहरू जाँचे। परिचयपत्र मागेपछि मैले हराएको भनेँ। तीन दिनको यात्राको क्रममा बच्चाहरू बिरामी जस्तै भएका थिए। जेठी छोरीले बान्ता गरिरहेको देखेर सुरक्षाकर्मीलाई पनि दया लागेको होला,’ उनले भनिन्।

प्रतिक्रिया