बिहीबार, वैशाख २०, २०८१

प्युठानको खानेपानीमा ३९ प्रतिशत दिसाजन्य पदार्थ मिसावट

नेपालखोज २०८० असार २९ गते १२:०७

प्युठानमा ३९ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ। स्वास्थ्य कार्यालय प्युठानले विभिन्न समयमा गरेको १३५ वटा खानेपानीको नमुना परीक्षणमा ५३ वटामा इकोली भेटिएको पाइएको हो।

जिल्लाका नौ स्थानीय तहमा गरिएको परीक्षणमा ३९ प्रतिशत नमुनामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो। पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उहाँको भनाइ छ।

परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाका धेरै स्थानको पानी मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालको रहेको पाइएको हो।

जनस्वास्थ्य प्रमुख पाण्डेका अनुसार माण्डवी गाउँपालिकाको ११ नमुनामा परीक्षण गर्दा आठ वटामा इकोली भेटिएको छ। यस्तै प्युठान नगरपालिकामा १७ वटा नमुना परीक्षण गर्दा ११, स्वर्गद्वारी नगरपालिकामा १८ नमुना परीक्षण गर्दा १० वटा र गौमुखी गाउँपालिकामा १६ नमुना परीक्षण गर्दा सात वटामा इकोली भेटिएको हो।

त्यस्तै मल्लरानी गाउँपालिकामा १५ नमुना परीक्षण गर्दा ६ वटामा, ऐरावती गाउँपालिकामा १७ नमुना परीक्षण गर्दा ४ वटामा, झिमरुक गाउँपालिकामा १५ नमुना परीक्षण गर्दा तीन वटामा, नौबहिनी गाउँपालिकामा १९ नमुना परीक्षण गर्दा तीन वटामा र सरुमारानी गाउँपालिकामा सात नमुना परीक्षण गर्दा १ वटामा इकोली भेटिएको हो।

यी तथ्यांकले जिल्लावासीलाई शुद्ध खानेपानी उपलब्ध गराउनका लागि चुनौती थपिएको छ। सकारले ‘एक घर एक धारा’ अभियान सञ्चालन गरे पनि शुद्धपानी पुर्याउन नसकेको सरोकारवालाको भनाइ छ।

जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जिसीको अध्यक्षतामा सम्पन्न जिल्लास्तरीय सरसफाइ समितिको बैठकमा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख पाण्डेले जिल्लाको खानेपानी र सरसफाइको अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

स्वास्थ्य संस्था, सार्वजनिक धारा, निजी धारा, मूल, ट्यांकी, इनार तथा विद्यालयबाट नमुना परीक्षण गर्दा इकोली देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक परशुराम पोख्रेलले जानकारी दिनुभयो। वर्षात्को मौसम भएका कारण पनि इकोली बढी देखिएको हुन सक्ने बृहत् बिजुवार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जानका केसीले जानकारी दिनुभयो।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले इकोलीले हैजा, झाडापखाला, टाइफाइडजस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले समयमै पानी शुद्धिकरणसम्बन्धी सचेतनामूलक क्रियाकलाप सञ्चालन गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो।

स्वास्थ्य कार्यालय प्युठानका प्रमुख पाण्डेले बर्खाका बेला संक्रमणको जोखिम रहने भएकाले स्वास्थ्य सावधानी अपनाउनाका साथै पानी शुद्धीकरण गरी पिउन सबैलाई आग्रह गर्नुभएको छ। जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकी, विभिन्न खानेपानी आयोजना, कुवा, उपभोक्ता समितिका धारा आदिबाट प्राप्त हुने पानी उमालेर मात्र पिउनुपर्नेमा स्वास्थ्य कार्यालयले जोड दिएको छ।

स्वास्थ्य कार्यालयले बर्खा लाग्नुभन्दा अघि र बर्खा लाग्नासाथ सम्बन्धित उपभोक्ता समितिको समन्वयमा खानेपानीको नमूना संकलन गरी परीक्षण गरेको थियो। – INS

प्रतिक्रिया