आइतबार, जेठ ६, २०८१

ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

नेपालखोज २०८० असार ३१ गते १०:१६

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ ।

यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।

शनिवार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा. नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वने मले जानकारी दिए । उनका अनुसार अस्थायी टहरा निर्माणका लागि यहाँ स्थित सबै राजनीतिक पार्टी, सुरक्षा निकाय, जनप्रतिनिधिको संयुक्त टोली खटिने छ । उनका अनुसार आगामी साउन ७ गतेदेखि उक्त काम प्रारम्भ हुने छ ।

यस्तै स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वने मले आग्रहसमेत गरे । बाढीपहिराका कारण यस गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् ।

ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुल बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिराले चिराचिरा परेको छ । पहिराकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ ।

प्रतिक्रिया