कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची

काठमाडौं । नेपाली कांग्रेसले यही साउन २ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले जानकारी दिए।
बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उनले बताए । बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गरेकाे थियो ।
प्रतिक्रिया