फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल

सिड्नी । नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ आज (बिहीबार) देखि सुरु हुँदैछ ।
अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको नवौं संस्करणको विश्वकपको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।
महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । उद्घाटन समारोह न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डको इडेन पार्कमा हुँदैछ । इडेन पार्कको क्षमता ५० हजारको छ ।
यो न्युजिल्यान्डको सबैभन्दा ठूलो स्टेडियम हो । यहाँ क्रिकेट विश्वकपका साथै २०११ मा रग्बी विश्वकपको फाइनल पनि आयोजना भइसकेको छ ।
यो न्युजिल्याण्ड रग्बी युनियन टोली ‘अल ब्ल्याक्स’ को घरेलु मैदान समेत हो । इडेन पार्कमा एक सेमिफाइनल सहित ९ खेलहरू आयोजना हुँदैछ ।
उद्घाटन समारोहमा दुई कलाकारले मात्र प्रस्तुति दिनेछ । स्थानीय कलाकार न्युजिल्यान्डका र अष्ट्रेलियाका मल्लराटले उद्घाटन समारोहमा महिला विश्वकपको लागि आधिकारिक गीत प्रस्तुत गर्नेछन् ।
‘डु इट अगेन’ भन्ने गीतको उद्देश्य ‘महिलाको खेलकुदलाई ठूलो प्लेटफर्ममा ल्याउनमा मात्र नभई सबैमा ध्यान दिइने र समर्थन गरेकोमा पनि संलग्न दृढ संकल्प गर्ने रहेको छ ।
उद्घाटन खेलमा आयोजक न्युजिल्यान्ड र नर्वेबीच प्रतिस्पर्धा हुदैछ । समूह ‘ए’ को यो खेल नेपाली समय अनुसार साँझ ५ बजेपछि हुनेछ । दुवै टोली आफ्नो समूहमा जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै पहिलो दिन समूह ‘बी’ को खेलमा अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समय अनुसार राति ८ बजेपछि एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।
न्युजिल्यान्ड र अष्ट्रेलियाको विभन्न ९ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि–क्वाटरफाइनलमा पुग्नेछ । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ ।








प्रतिक्रिया