योजना आयोगका उपाध्यक्ष स्वदेश फिर्ता

काठमाडौं । अमेरिकामा सम्पन्न संयुक्त राष्ट्र सङ्घको उच्चस्तरीय ‘पोलिटिकल फोरम’मा सहभागी भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबादुर श्रेष्ठ आज स्वदेश फर्किएका छन् । अतिकम विकसित मुलुकको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी)को अध्यक्षता समेत गरिरहेका उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपालले उच्चस्तरीय फोरममा सहभागी जनाएको थियो ।
न्यूयोर्कमा रहँदा उनले अल्पविकसित मुलुकको तर्फबाट विभिन्न तीनवटा सत्रमा सम्बोधन गरेका थिए। फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिको सहभागिता थियो । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रमा सङ्कटका प्रभाव प्रकाश पार्दै अल्पविकसित राष्ट्रमा एसडिजीको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताएका थिए ।
एलडिसीको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न, नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसीलाई सहयोग गर्न विश्व समुदायलाई उनले आग्रह गरेका थिए । भ्रमणका क्रममा उपाध्यक्ष श्रेष्ठले अतिकम विकसित मुलुकका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्त रबाव फतिमा, युएनडिपीका उच्च अधिकारीलगायतसँग भेटवार्ता समेत भएको थियो ।
प्रतिक्रिया