शुक्रबार, वैशाख २१, २०८१

लहान अस्पतालमा रेविजविरुद्धको खोप अभाव

नेपालखोज २०८० साउन ६ गते १८:५३

सिरहा । सिरहाको लहान नगरपालिका-७ का पुष्पराज बनैँता शुक्रबार रेबिजविरुद्धको खोपको तेस्रो डोज लगाउन यहाँस्थित लहान प्रादेशिक अस्पतालमा पुगे । तर अस्पतालले खोपको मौज्दात सकिएको बताएपछि उहाँ निजी क्लिनिकमा महङ्गो शुल्क बुझाएर खोपको डोज लगाउन बाध्य भए ।

अस्पतालमा पछिल्लो नौ दिनयता रेविजविरुद्धको खोप अभाव भएपछि बनैँताजस्तै अन्य बिरामी महङ्गो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन् । उपचारका लागि आउने बिरामी निराश बन्दै फर्कने गरेका छन् । रेविजविरुद्धको खोप सरकारी अस्पतालमा निःशुल्क पाइन्छ । खोप अभावमा यहाँका गरिब तथा विपन्न परिवारलाई उपचारमा समस्या भएको छ । प्रतिडोज रु पाँच सय पर्ने खोप अस्पतालमा नभएको मौकामा निजी मेडिकलले रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म असुल्ने गरेको सेवाग्राहीको गुनासो छ ।

प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. सुनिलकुमार कुहवाहाले बताए । ‘दैनिक औतमा १५ देखि २० जना बिरामी खोप लगाउन आउँछन् तर खोप छैन, आफैँले खरिद गर्न मिल्दैन । हामीले हप्ता दिनअघि नै प्रदेश आपूर्ति केन्द्रमा आवश्यक खोप माग गरेका थियौँ । तर त्यहाँ पनि आवश्यक मात्रामा मौज्दात नहुँदा अहिले अभाव भएको छ’, कुशवाहाले भने ।

प्रदेशबाट छिट्टै खोप प्राप्त हुने आश्वासन पाएको समेत बताउनुभयो । अस्पतालका अनुसार रेविजविरुद्धको खोप लगाउने विरामीको सङ्ख्या हाल दुई सयभन्दा बढी छ ।

प्रतिक्रिया