शुक्रबार, जेठ ३, २०८२

‘नेकपाका संस्थापक कर्माचार्य भने, कम्युनिस्टले सिद्धान्त र व्यवहारलाई मिलाएर लैजानुपर्छ’

नेपालखोज २०८० साउन ९ गते ११:२६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज दशाैँ स्मृति दिवस ।

वि.सं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मनुभएका संस्थापक सदस्यको २०७० साल साउन ९ गते काठमाडौंमा निधन भएको थियो ।

वि.सं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुन् ।

उनी वि.सं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी भएका थिए । आन्दोलनका क्रममा थुप्रैपटक कर्माचार्य जेल र निर्वासनमा समेत गएका थिए । तत्कालीन राष्ट्रिय कांग्रेसलाई मिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

राष्ट्रिय कांग्रेसबाट देश र जनताको पक्षमा केही हुने नदेखेपछि उनी अर्को क्रान्तिकारी पार्टी निर्माणका क्रियाशील भएका थिए । कर्माचार्य चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान आन्दोलनबाट प्रभावित भएका थिए ।

पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष भए । उनी २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए । वि.सं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट उनी नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उनले निरन्तर पहल गरिरहेका थिए । यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहेका थिए । उनी जीवनभर अविवाहित रहे ।

संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ ।

दशौँ स्मृति दिवसका अवसरमा आज नेकपा(माओवादी केन्द्र)को पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा माओवादी शीर्षनेताले कर्माचार्यको पार्टी र सिद्धान्तप्रतिको निष्ठा सबैले अनुशरण गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया