मंगलबार, जेठ १, २०८१

सडक अधुरै, आवागमनमा सास्ती

नेपालखोज २०८० साउन १० गते ८:५३

भजनी । राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत जेठ ३१ र असार ८ गते आएको बाढीले खोलामा पर्ने ६ वटा सडक बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको छ । 

बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । बाढीले निकै ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहँुचभन्दा बाहिर रहेको उनको भनाइ छ ।

‘राउते खोलाको बाढीले हाम्रो वडामा करोडौंको क्षति भएको छ,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘यो खोला भएर बनेका सबै सडक बगाएको अवस्था छ । सडक अवरोध हुँदा दैनिकी निकै कष्टकर बनेको छ । यहाँको क्षतिको विषयमा राज्यले ध्यान आवश्यक छ ।’ बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ ।

यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्‍याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनीयरको ज्यान समेत गएको थियो ।

‘बाढीका कारण १ महिनादेखि यातायात सञ्चालनमा समस्या छ,’ उनले भने, ‘खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन् । सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या रहेको छ । यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिँदैन ।’

बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक १ महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीय मानबहादुर सुनारले बताए । जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उनको भनाइ छ ।

‘बाढीले यति ठूलो क्षति पुर्‍याउँदा पनि राज्य ध्यानले नदिएको जस्तो देखिन्छ,’ उनले भने, ‘बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ । तत्काल पहिलाको सडक भएको स्थान मर्मत गर्न सकिने अवस्था छैन । वैकल्पिक मार्गको खोजी गरेर भए पनि यातायात सञ्चालनमा ल्याउन पहल हुन आवश्यक छ ।’

विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताए । छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उनको भनाइ छ । सडकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए ।

‘बाढीले सडक बगाउँदा जिल्लाको पश्चिमी क्षेत्रको जनजीवन निकै कष्टकर बनेको अवस्था छ,’ उनले भने, ‘एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था छ । बिरामीलाई अस्पताल पुर्याउन सकिने अवस्था छैन । उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ ।’

राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीय टंक घिमिरेले बताए । असार ८ गते खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्‍याएको उनको भनाइ छ । बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकाले अर्को ठाउँबाट सडक विस्तार गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ ।

प्रतिक्रिया