रावलले भने- प्रधानमन्त्री देउवाको दिमाग खुस्केर होस हराएको छ

काठमाडौं । नेकपा एमालेका नता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले झूटो बोलेको आरोप लगाएका छन् । सोमबार नुवाकोटमा देउवाले दिएको अभिव्यक्तिको जवाफ दिँदै रावलले देउवाको होस हराएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसद्मा पेस गर्ने निर्णय गरेको भन्दै प्रधानमन्त्री देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो?’ भन्दै प्रश्न गरेका थिए । रावलले भनेका छन्, ‘तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्केर’ होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’
रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसीसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन् । तथ्य जानकारी नराखी आरोप लगाएको भन्दै ‘दिमाग खुस्केर होस हराएको’ टिप्पणी गरेका हुन्। उनको भने, ‘प्रधानमन्त्री देउवाले ‘किन रावललाई मात्र टाउको दुख्छ’ भन्ने प्रश्न गर्नुभएको रहेछ। नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहीत स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो।’
उनले थप बहस गर्ने इच्छा भए आफू तयार रहेको बताएका छन् । पदीय मर्यादाका लागि तुच्छ शब्द प्रयोग नगर्न समेत रावलले सुझाव दिए। एमसीसी अनुमोदन गर्दा अहिले त्यतिबेलाका रक्षामन्त्री रावलले विरोध गरेकोमा दिमाग फुस्किएको आरोप लगाएपछि रावलले जवाफ फर्काएका हुन् ।
प्रतिक्रिया