मंगलबार, जेठ १, २०८१

महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध

नेपालखोज २०८० साउन १० गते ९:२०

कञ्चनपुर । को दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् ।

जोगबुढा र महाकाली नदीको दोभान भएका कारण कुतियाकवरमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए ।

‘बस्तीबाट ४०–५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ, यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौं,’ नगर प्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले २ बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’

उनले महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको बताए । अहिले स्थानीयले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् । ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीय त्रसित बनेका छन् ।

‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ,’ स्थानीय प्रेम सार्कीले भने, ‘बाढीको त्रासले यहाँका वासिन्दाले सुत्न पाएका छैनन् ।’ उनले कटान रोक्नका लागि स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताए ।

स्थानीय मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने बताइन् । ‘तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ,’ उनले भनिन्, ‘यहाँ डुबान र कटान धेरै हुन्छ । बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसके ।’

गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले बताइन् । ४९ परिवारको बसोबास रहेको बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्दछन् । बाढीले यहाँको बिघौं जग्गा बगरमा परिणत गरेको छ ।

प्रतिक्रिया