सुन तस्करीमा ठूलो सेटिङ भएको छ, गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीमा ठूलो सेटिङ भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य कर्मचारी सरुवा गरेर जिम्मेवार निकायका प्रमुखलाई जोगाइएको आरोप लगाएका हुन् ।
उनले कुनै पनि प्रकरणको फाइल खोल्ने र गिजोलेर छाड्न काम गरे सरकारको दिनगन्ती सुरु हुने चेतावनी दिए ।
संसदको बुधबार बसेको बैठकमा समय लिएर बोलेका रास्वपा सभापति लामिछानेले १०० किलो सुन तस्करी प्रकरणमा मालिकसम्म किन पुगिएन भनेर प्रश्न गरे ।
भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणको जरा कहाँ छ भनेर सबैलाई थाहा भएको, तर सरकारले गिजोलेर मात्र छाड्ने गरेको उनले बताए ।
‘भ्रष्टाचार विरुद्ध चालेको कदमलाई स्याबास भनेको फाइदाका रुपमा नलिइयोस्’ रास्वपा सभापति लामिछानेले चेतावनीको भाषामा भने, ‘जरासम्म पुग्ने साहस लिएको हो भने ठीक छ । फाइल खोलेको गन्न मात्र सुरु गरेको हो भने सरकारको दिन गन्न सुरु हुन्छ ।’
प्रतिक्रिया