पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड

नेपालखोज २०८० साउन ११ गते १६:४८

काठमाडौं । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ ।

चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किशिमको हुने सडक विभागको भनाइ छ ।

सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीका अनुसार पहिले मुख्य सडकको बीचमा डिभाइडर नभएकामा अहिले बीचमा डिभाइडर राख्न लागिएको छ । पहिलो खण्डमा मुख्य लेन र सहायक लेनको बीचमा मात्रै डिभाइडर रहेको थियो । उनले भने, ‘मुख्य सडकको बीचमा हुने डिभाइडरले नै दुबैतर्फको सडक छुट्टाउनेछ ।’

पहिले बीचको चार लेनमध्ये दुई लेनबाट आउने, दुई लेनबाट जाने छेउछेउको लेनबाट पनि एकातर्फबाट आउने अर्काेतर्फबाट जाने थियो । यो खण्डमा मुख्य लेन र सहायक लेनभन्दा पनि मुख्य सडकको बीचबाट दुईतर्फको लेन छट्टिनेछ ।

सडकमा पानी जम्न नदिनका लागि विशेष खालको लामो ड्रेन राख्न लागिएको प्रमुख डा. जैसीले बताए । चक्रपथको पहिलो खण्डमा ठाउँठाउँमा पानी जम्ने समस्या भएकामा त्यो समाधान गर्न लागिएको विभागले जनाएको छ ।

विभागले दुईतीन ठाउँका चोकमा ‘अण्डरपास’ र ‘ओभरपास’ लगायत संरचना निर्माणका लागि पहल गरेको छ । चोकमा हुने सडकको चाप व्यवस्थापन गर्न यी संरचनाका लागि अनुरोध गरिएको उनले बताए । प्रमुख डा. जैसीले भने,’त्यो अनुरोध उनीहरुले मौखिक रुपमा स्वकीकार गरेका छन् । के हुन्छ भन्ने विस्तृत डिजाइन आएपछि थाहा हुन्छ ।’

सन् २०१८ मा ऋण स्वीकार गर्दा नै एउटा खाका बनेको थियो । त्यो बेला अण्डपास निर्माण गर्ने कुरा उल्लेख थिएन । पहिले नभएको नक्सा परिवर्तन गर्न गाहे हुने उल्लेख गर्दै उनले भने, ‘भौतिक पूर्वाधारमन्त्री आफैँले पनि कोसिस गर्ने भन्नुभएको छ ।’

चक्रपथको पहिलो खण्डमा चिनियाँ कम्पनीले तीन वटा मात्रै आकाशे पुल बनाएको थियो । त्यो मात्रै पर्याप्त नभएकाले सरकार आफैँले थप छ स्थानमा आकाशे पुल निर्माण गरेको थियो ।

प्रतिक्रिया