हिमाली हिरा यार्सा बेचेर करोडौँ आम्दानी

नेपालखोज २०८० साउन १२ गते १४:४९

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन् । जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन् ।

देशभर आर्थिक मन्दी भइरहँदा मुगालहरुले भने गाउँमा करोडाैँ रकम भित्र्याइ रहेका छन् । गत जेठ ५ गते मुगुका दुई दर्जनभन्दा बढी पाटनमा यार्सा सङ्कलनका लागि मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुल्ला गरेको थियो ।

यस वर्ष पाटन तथा हिमालमा यार्सा टिप्न जिल्लाका स्थानीयका साथै दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि सङ्कलकहरु आएको यार्सा सङ्कलन छोर्तेन लामाले बताए । उनका अनुसार वर्षाको समय भएकाले पानी र हिउँका कारण यार्सा पाइएको थिएन् । असार ५ गतेपछि मौसममा सुधार आएकाले पर्याप्त यार्सा पाइएको उनको भनाइ थियो ।

छायाँनाथ रारा नगरपालिका–१२ लुम्सका कम्वर ऐडीले यार्सा टिप्न पाटन गएका भाइबुहारीले मात्र २५ दिनमा यार्सा बेचेर साढे चार लाख आम्दानी गरेका बताए । गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले दुई लाखबढी आम्दानी गरेका भन्दै यस वर्ष लुम्स गाउँमा मात्रै ३० देखि ५० लाखसम्म रकम भित्रिएको उनले अनुमान गरे ।

वडा नं १२ शोभा गाउँका स्थानीय गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँमा एक करोडभन्दा बढी आम्दानी भएको छ । उनका अनुसार मुगालीहरु वर्षभरि खान र वार्षिक आवश्यकताका लागि खर्चको जोहो एक महिना यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन् ।

व्यापार, खेतीपाती र नोकरीभन्दा महिनादिनभित्र यार्सा टिपेर बढी आम्दानी हुने भएकाले यस मौसममा यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन् । यार्सा व्यापारी पाटनमै पुगेर यार्सा सङ्कलकसँग यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न सङ्कलकलाई बजारको समस्या हुँदैन । पाटनमै टिप्ने उतै बेच्ने पैसामात्र घर ल्याउने गर्दछन् ।

पाटनमा यार्सा व्यापारीले खाल्वा (ठूलो, राम्रो) यार्सालाई प्रतिबुटी आठ सय र मध्यमलाई प्रतिबुटी चार सय ५० सम्म दिएका सावतले बताए । उनका अनुसार खाल्वा यार्सा एक केजी पुग्न तीन हजार दुई सय बुटी र मध्यम यार्सा एक केजी पुग्न चार हजारदेखि ४२ सय बुटी आवश्यक पर्दछ ।

यार्सा बेचेर मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्ती तथा छायाँनाथ रारा नगरपालिकाका केही बस्तीमा सबैभन्दा बढी रकम भित्रिएको यार्सा सङ्कलक बताउँछन् । त्यस्तै, मह गाउँमा मात्रै चार करोडभन्दा बढी रकम भित्रिएको स्थानीय बताउँछन् ।

माग्री, पाँपु, छाइल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा ५० लाखदेखि एक करोडसम्म रकम भित्रिएको मुगु गाउँका स्थानीय छोर्तेन लामाले जानकारी दिए। उनका अनुसार मुगु गाउँमा मात्रै तीन करोडभन्दा बढी रकम भित्रिएको छ । नगरपालिका भित्रका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घटटलेख, जिउला, र्याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका स्थानीय पनि यार्सा बेचेर मनग्य आम्दानी गरेका छन् ।

मुगुम कार्मारोङ्गस्थित पुअ गाउँका छेवाङ्ग लामाका छोराबुहारीसहित चार जनाले यार्सा बेचेर २१ लाख कमाएका छन् । यो सिजनमा एक करोडभन्दा बढी रकम यार्सा बेचेर गाउँमा भित्र्याएको उनले जानकारी दिए ।

प्रतिक्रिया