वैदेशिक सहायता लिँदा राष्ट्र हितलाई ध्यान दिन विज्ञको सुझाव

काठमाडाैं । पूर्वाधार विज्ञहरूले पूर्वाधार निर्माणका लागि वैदेशिक ऋण तथा अनुदानलगायतको सहायता लिँदा राष्ट्र हितलाई ध्यानमा राख्न सुझाव दिएका छन् । आज यहाँ सेन्टर फर सोसियल इन्क्लुजन एण्ड फेडेरालिजम (सिइएसआइएफ)ले आयोजना गरेको कार्यक्रममा विज्ञहरूले दातृ निकायसँग कर्मचारीहरूको कमजोर बार्गेनिङ क्षमताकै कारण सहायतामा दातृ निकायको स्वार्थ हावी हुने गरेको स्पष्ट पारे ।
उनीहरूले ऋण तथा अनुदान जस्ता सहायता स्वार्थबिना नआउने स्पष्ट पार्दै मुलुकको हितअनुसार मात्रै लिन सुझाव दिए । सरकारका पूर्वसचिव लालशङ्कर घिमिरेले वैदेशिक सहायता दातृ निकायको कुनै स्वार्थबिना नआउने स्पष्ट पारे । सरकारका पूर्वसचिव दीपेन्द्रनाथ शर्माले पूर्वाधार सुशासनको अनुगमनको अभाव भएको भन्दै राष्ट्रिय योजना अयोगले यस क्षेत्रमा बढी ध्यान दिनुपर्नेमा जोड दिए । खासगरी निर्धारित समयमा परियोजना पूरा नहुने अवस्थामा एकले अर्कालाई आरोप लगाउने तथा परियोजनाको लगानी बढ्ने अवस्थाको अनुमगन जरुरी रहेको उनको भनाइ छ ।
उनले सार्वजनिक खरिद अनुगमन कार्यालयको अनुगमन प्रभावकारी नभएको समेत उल्लेख गरे । सो अवसरमा आईआईडीएसकी निर्देशक डा. सुचेता प्याकुरेलले नेपाल आर्थिक सूचकाङ्कमा खराब अवस्थामा नभएको भन्दै राजनीतिक आयामका रूपमा पनि चिन्तन गर्नुपर्ने बताए ।
विश्व बैंकका पूर्व वरिष्ठ वैदेशिक मामिला अधिकृत राजीव उपाध्यायले पछिल्लो समय स्रोत सीमित हुँदै गएको भन्दै सहज र सस्तो स्रोतको अभाव बढ्दै गइरहेको बताए । उनले पश्चिमा देशहरूमा आर्थिक मन्दी देखिन थालेपछि विश्वको भूराजनीति चिन्तन अर्थतन्त्रमा केन्द्रित भएको र विश्वका अधिकांश देशमा सैन्य बजेट बढ्दो क्रममा रहेको धारणा राखे ।
सो अवसरमा सीइएसआईएफले तयार पारेको ‘नेपालको पूर्वाधारमा चीनको उदयः अवस्था, समस्या र चुनौतीहरू’ विषयक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । साथै लेखक अमिसराज मुल्मीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया