समृद्धिका लागि खेलकुद क्षेत्रको प्रवर्द्धन गर्नपर्छ : मन्त्री लिम्बू

नेपालखोज २०८० साउन १३ गते २१:२४

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले मुलुकको विकास र समृद्धिका लागि खेलकुद क्षेत्रको प्रवर्द्धन गरी पर्यटन व्यवसायलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री लिम्बूले भने, ‘पर्यटन प्रवर्द्धनका लागि खेलकुद क्षेत्र पनि महत्त्वपूर्ण आधार हो, त्यसैले खेलकुद क्षेत्रलाई प्रोत्साहित गर्न सकिए यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ । खेलकुदका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिए स्वदेशमै रोजगार सिर्जना हुन्छ ।’

खेलकुद क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री लिम्बूले राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल मधेस प्रदेशमा पनि गर्ने तयारी भइरहेको बताए । प्रतियोगितामा देशभरि र देशबाहिरका पनि खेलाडी तथा प्रशिक्षक र खेलप्रेमीको उपस्थिति हुने भएकाले यसबाट आर्थिक गतिविधि बढ्ने र व्यापार व्यवसाय फस्टाउने मन्त्री लिम्बूले उल्लेख गरे ।

इनडोर खेल खेल्नका लागि नयाँ कभर्डहल बनाउने कार्यमा निजी क्षेत्रसँगै स्थानीय र प्रदेश सरकारले सहयोग तथा समन्वय गर्नुपर्ने बताउँदै उनले वीरगन्जस्थित नारायणी रङ्गशाला पुनःनिर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले मधेस प्रदेशबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने भए पनि राज्यको लगानी हुन नसकेकाले अपेक्षाकृत दक्ष खेलाडी उत्पादन हुन नसकेको गुनासो गरे ।

राज्यको उदसिनताका कारण यहाँका आदर्शनगर रङ्गशाला र नारायणी रङ्गशालाको अवस्था जर्जर भएको गुनासो गर्दै उनले यहाँको खेलकुद क्षेत्रको विकासका लागि ठोस योजना बनाएर अघि बढ्ने निजी क्षेत्रले बलियो साथ दिने प्रतिबद्धता व्यक्त गरे । यसैबीच युवा तथा खेलकुदमन्त्री लिम्बूले आजै वीरगन्जस्थित नारायणी रङ्गशालाको निरीक्षण गरेका छन् । rss

प्रतिक्रिया