मंगलबार, जेठ १, २०८१

‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, त्यो कहिल्यै अपाङ्गता हुँदैन’

कृष्ण दबाडी २०८० साउन १६ गते १०:५९

कास्की । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइन् ।

शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गरिन् । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन् ।

पोखरा आएसँगै उनीमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगिन्, उनले त्यसपछि आफ्नो खुसी थाम्न सएन ।

‘प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्न भनेर मनमा लागिरहेको थियो’, उनले भनिन्, ‘उडेर हावाको प्रेसरले माथि माथि जाँदा, दिशा परिर्वतन भएको अनुभव गर्न पाइयो । एकदमै रमाइलो लाग्यो ।’

पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १० दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गरिन् । साहसिक खेल प्याराग्लाइडिङ गर्न जो–कोही तत्कालै तयार हुँदैनन् ।

यसका लागि साहस चाहिन्छ, तर शारीरिकरूपमा फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए । दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो । प्याराइलाइडिङ गर्नेहरु एक–दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो ।

बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गरे । उनले समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित भइन् । उनले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पनासमेत गरेकी थिइनन् । उनले भनिन्, ‘आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, मनमा खुसीको सीमा नै छैन ।’

चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन् । तर आफूले पाउँछु कि पाउँदिन भन्ने उनलाई थाहा थिएन । अघिल्लो दिनमात्र गर्न पाउने भन्ने उनले जानकारी पाइन् । उनले भनिन्, ‘मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो । आकाशमा उड्ने भनेपछि कस्तो हुने, आकाशमा कस्तो हुन्छ होला भन्ने थियो । तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो ।’

ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो । उनले नै यस कार्यको अग्रसरता लिनुभयो र आफ्ना साथीहरूलाई अवसर प्रदान गर्नुभएको थियो । सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन् ।

उनले भनिन्, ‘यो समावेशी पर्यटन प्रवर्द्धन हो । यसबाट सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छैक्दन भन्ने सन्देश दिएको छ । जीवनमा उचाइमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहीनतामा सीमित हुन जरुरी छैन । त्यो भन्दा माथि उठ्न सक्छौँ, उड्न सक्छौँ ।’

उनको प्याराग्लाइडिङको अनुभवन पनि रोमाञ्चक छ । बादलभित्र हराउँदाको खुसी उनले शब्दमा व्यक्त गर्न सक्नुहुँदैन । उनले भनिन्, ‘मेरो पाइलटले बादल छुहाउन लिए । बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ । बादलभित्र हराउँदाको खुसीले मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो । जीवनमा सपना देख्न आँखा होइन, हिम्मत र आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपाङ्गता हुँदैन ।’

प्याराग्लाइडिङ पाइलट राम गौतम दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको बताइन् । अन्य सामान्य नागरिकले आफैँले देखेर आनन्दित हुने खुुसीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा उनीहरूमा समेत अन्य नागरिकसरह उत्साहित भएको उनले बताइन् ।

उनले भने, ‘सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउनुहुन्छ । दृष्टिविहीनलाई हामीले तपाईँ तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौैँ, यसो भन्दा उनीहरूसमेत उत्साहित छन् ।’

प्रतिक्रिया