लुम्बिनी केबलकार प्रदेशको ‘गेम चेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी

नेपालखोज २०८० साउन १६ गते १८:२४

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी पाँच अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताएका छन् ।

बुटवलमा केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरूसँग बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबलकार ‘गेम चेन्जर प्रोजेक्ट’ भएको बताएका हुन् ।

केबलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई मात्र नभई २४ करोड जनसंख्या भएको भारत उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ । उत्तर प्रदेशका पर्यटकलाई लुम्बिनी र केबलकारसम्म भ्रमणका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग प्रदेश सरकारले नै वार्ता गरिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।

‘यो एउटा ठूलो गेमचेन्जर प्रोजेक्ट हो, यसले धेरै कुराहरु जोडेको छ, लुम्बिनी आइसकेपछि पर्यटकलाई कहाँ जाने भन्ने ठूलो समस्या थियो, केबलकार बनेपछि उनीहरुलाई घुम्न र बस्न उत्कृष्ट गन्तव्य भएको छ,’ उनले भने ‘उत्तर प्रदेशका पर्यटकलाई यहाँसम्म ल्याउन प्रदेश सरकारले नै उत्तर प्रदेशका मुख्यमन्त्रीसँग वार्ता गरिरहेको छ ।’

निजी क्षेत्रले पर्यटन क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त गर्न पर्यटकीय पूर्वाधारको प्रवद्र्धन र बजारीकरणमा प्रदेश सरकार निजी क्षेत्रको साथमा रहेको मुख्यमन्त्री चौधरीले स्पष्ट पारे।

प्रदेश सरकारले नीति तथा कार्यक्रममै बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै मुख्यमन्त्री चौधरीले लुम्बिनीमा नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा छिट्टै अन्तर्राष्ट्रियस्तरको लोरेट एन्ड लिडर कार्यक्रम गर्न लागेको पनि जानकारी दिए ।

सो अवसरमा लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीयसँगै भारत उत्तर प्रदेशका नागरिकलाई लक्षित गरी १५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हलसहित पाँचतारे होटेल समेत गरी पाँच अर्ब रुपैयाँ केबलकार परियोजनामा लगानी गरेको बताए ।

प्रतिक्रिया