अमेरिकासँगको बराबरीसँगै पोर्चुगल बाहिरियो

नेपालखोज २०८० साउन १६ गते १९:०७

अकल्यान्ड । साविक विजेता तथा सर्वाधिक चारपल्टको च्याम्पियन अमेरिकासँग बराबरीमा रोकिएपछि पोर्चुगल फिफा महिला विश्वकप फुटबल २०२३ को समूह चरणबाटै बाहिरिएको छ ।

समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा अमेरिकासँग गोलरहित बराबरीमा रोकिएपछि पोर्चुगल समूह ‘ईं’ मा तेस्रो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको हो ।

पोर्चुगललाई बराबरीमा रोकेको अमेरिका भने समूह उपविजेता बनेर प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई नकआउट चरणमा पुग्न बराबरी नै पर्याप्त रहँदा त्यही नतिजा निकाल्दै अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो ।

फिफा महिला विश्वकपको इतिहासमा पोर्चुगल पहिलोपल्ट नकआउट चरणमा पुग्न असफल भएको हो । पोर्चुगलले यसअघिको सबै ८ संस्करणमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा पोर्चुगलले बल पोसेसन राख्दै दवाव बढाएपनि अमेरिकाको पोस्टमा भने गति आक्रमण बुन्न नसक्दा बराबरीमा रोकिदै समूह चरणबाटै बाहिरिन पुग्यो । यता अमेरिकाले भने पाएको मौकालाई सदुपयोग गर्न सकेन ।

यस बराबरीसँगै अमेरिका ३ खेलबाट ५ अंक जोडेर समूहमा दोस्रो भएर अन्तिम १६ मा पुग्न सफल हुँदा पोर्चुगल ४ अंक जोडेर तेस्रो भयो । नेदरल्यान्ड्स ७ अंक जोडेर शीर्षस्थानमा रहँदा भियतनाम अंकविहीन हुँदै बाहिरियो ।

मंगलबारै डुनेडिन स्टेडियम न्युजिल्यान्डमा भएको खेलमा नेदरल्यान्ड्सले भियतनामलाई ७–० को भारी गोल अन्तरले पराजित गर्दै समूह विजेता बन्यो । नेदरल्यान्ड्सको सानदार जितमा इस्मी ब्रुट्स र जिल रुडले समान दुई तथा लिके मार्टिन्स, कट्जा स्नोइस र ड्यानिल भान डि डन्कले समान एक गोल गरिन् ।

प्रतिक्रिया