ट्रम्पमाथि अर्को मुद्दा, चुनाव हारेपछि षड्यन्त्र गरेको आरोप

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पलाई सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि उक्त परिणाम उल्ट्याउन षड्यन्त्र गरेको भन्दै चारवटा अभियोग लगाइएको छ।
उनीविरुद्ध राज्यलाई धोका दिने षड्यन्त्र रचेको, साक्षीलाई प्रभावित पारेको र नागरिक अधिकारविरुद्ध रणनीति बनाएको आरोप लगाइएको छ।
यो अभियोजनसँगै सन् २०२१ को ज्यानुअरी ६ मा अमेरिकी संसद् भवनमा भएको दङ्गाको घटनाबारे अनुसन्धान टुङ्गिएको छ।
यद्यपि राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दिन लागेका ७७ वर्षीय ट्रम्पले गलत कार्य गरेको आरोप अस्वीकार गरेका छन्।
उनीविरुद्ध यसअघि नै गोप्य दस्तावेज सुरक्षित रूपमा नराखेको र एक महिला पोर्नस्टारलाई ‘मुख नखोल्न’ दिइएको रकम ढाकछोप गर्न आफ्नो व्यापारिक अभिलेखमा मिथ्या विवरण भरेको आरोप लगाइएको छ।
निर्वाचनसम्बन्धी अनुसन्धान उनको पराजय र वाशिङ्टन डीसीमा भएको दङ्गाबीचको दुई महिनाको अवधिमा ट्रम्पले गरेका कार्यहरूमा केन्द्रित छ। त्यतिबेला डेमोक्र्याटिक राष्ट्रपति जो बाइडनको जितलाई सांसदहरूले प्रमाणीकरण गरेपछि ट्रम्पका समर्थकहरूले संसद् भवनमा आक्रमण गरेको थिए।
अमेरिकी न्याय मन्त्रालयबाट नियुक्त भएका विशेष सल्लाहकार ज्याक स्मिथले अनुसन्धानको नेतृत्व गरेका हुन्।
‘सन् २०२१ को ज्यानुअरी ६ मा देशको राजधानीमा भएको आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको अभूतपूर्व आक्रमण थियो,’ उनले मङ्गलवार साँझ भने। ‘अभियोगमा भनिए झैँ त्यो घटनाक्रम झुटबाट प्रेरित थियो।’
उनले आफ्नो छोटो वक्तव्यमा अभियोगमाथि ‘शीघ्र सुनुवाइ’को माग गर्ने प्रतिबद्धता जनाउँदै पूर्वराष्ट्रपतिलाई ‘दोषी प्रमाणित नभएसम्म निर्दोष मान्नुपर्ने’ मा जोड दिएका थिए।








प्रतिक्रिया