अधिकार हस्तान्तरण गर्ने विषयमा संघ उदार हुनुपर्छ : अध्यक्ष तिमल्सिना

काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बजेट र अधिकार हस्तान्तरण गर्ने कुरामा सङ्घ उदार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा आज भएको तहगत सम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तक्र्रियामा उहाँले सङ्घीयताको मर्मविपरीत सङ्घमै अधिकार रोकेर राख्ने प्रवृत्ति हट्नुपर्छ भने ।
सङ्घीयताको मर्म अनुरुप समन्वयका लागि तीनै तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उनले राष्ट्रियसभाले सङ्घीयता कार्यान्वयनसम्बन्धी निचोड निकालेर कार्यान्वयनका लागि निर्देशनसमेत गरेको बताए । अध्यक्ष तिमिल्सिनाले तीन तहबीच भएको बजेट, योजना, कार्यक्रम र कार्यालय सञ्चालनमा भएको दोहोरोपना हटाउनुपर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अधिकारलाई गाउँमा पुर्याउन सङ्घीयतालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
उनले संविधानले परिकल्पना गरेअनुसार सक्रियतापूर्वक सङ्घीयता कार्यान्वयनमा आउन नसकेको टिप्पणी गरे । राष्ट्रियसभामा तीनै तहको प्रतिनिधित्व रहेको बताउँदै प्रदेश सभामुख पाठकले यी सबै समस्याको समाधान गर्ने थलो राष्ट्रियसभा भएको धारणा तर्क गरे । उनले तीनै तहको अभिभावकत्व ग्रहण हुने गरी सभालाई सञ्चालन गर्न आग्रह गरे । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल थापाले तीन तहको समन्वयका लागि राष्ट्रियसभाको भूमिका र हालसम्मको प्रयासको प्रस्तुतिकरण गर्दै कानुन निर्माण, बजेट निर्माणमा समन्वय हुनुपर्ने बताए ।
त्यस्तै, सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ कार्यान्वयनको अवस्था र अबको बाटो विषयमा प्रस्तुतीकरण गर्दै अधिवक्ता मोहनलाल आचार्यले तीनै तहको साझा अधिकारका विषयमा पर्याप्त कानुन बन्न नसकेको धारणा राखे ।
अन्तक्र्रियामा उपस्थित प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुखले समूहगत छलफल गरी सङ्घले कानुन तर्जुमा गरेर फुकाइ दिनुपर्ने स्थानीय तह र प्रदेश तहका समस्या, बजेट निर्माण र कार्यान्वयनका समस्या, अन्तरसरकारी समन्वयका विषयमा धारणा राखेका थिए ।

प्रतिक्रिया