बुधबार, जेठ २, २०८१

अविवाहित प्रमाणित गर्न रु १०००।- मात्र

नेपालखोज २०८० साउन १९ गते ५:२५

झापा । के तपाईं अविवाहित हुनुहुन्छ ? यदि तपाईं अविवाहित हुनुहुन्छ भने तपाईले आफु अविवाहित भएको प्रमाणित गर्न शुल्क तिर्नु पर्ने भएको छ।

झापाको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा प्रकाशित गरेको राजपत्रमा अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ शुल्क लाग्ने उल्लेख छ।

नेपाली नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय ५० रुपैयाँ लाग्ने भएपनि अविवाहित भएको प्रमाणित गर्न एक हजार रुपैयाँ लाग्ने भएको हो। यस अघि पालिकाले नागरिकताको प्रमाणपत्रको सिफारिस गर्न एक सय रुपैयाँ लिँदै आएपनि आर्थिक वर्ष २०८०/२०८१ मा ५० रुपैयाँ शुल्क वृद्धि गरेको हो।

त्यस्तै नागरिकताको प्रतिलिपि सिफारिस गर्न २ सय रुपैयाँ लिने राजपत्रमा उल्लेख छ भने नाता प्रमाणित गर्न ५ सय रुपैयाँ लाग्ने भएको छ। यस अघि नाता प्रमाणित गर्न ३ सय रुपैयाँ मात्रै लाग्दै आएको थियो । त्यस्तै बसोवास प्रमाणित गर्न समेत ५ सय रुपैयाँ लाग्ने राजपत्रमा उल्लेख छ ।

पालिकाले अविवाहित प्रमाणित गर्न मात्र होइन नाबालकको परिचयपत्र बनाउन गरिने सिफारिसका लागि समेत शुल्क लिने भएको छ । जसका लागि दुई सय रुपैयाँ शुल्क लाग्ने जनाएको छ। यता गाउँपालिकाले सम्बन्ध विच्छेदको सिफारिसमा तेब्बर बढी शुल्क बढाएको पाइएको छ। सम्बन्ध विच्छेदका लागि गरिने सिफारिसका लागि यस अघि ३ सय रुपैयाँ लिँदै आएपनि यस वर्षबाट सो शुल्कलाई बढाएर एक हजार रुपैयाँ पुऱ्याइएको छ । –INS

प्रतिक्रिया