भारतका नक्कली विश्वविद्यालयहरूबाट सावधान !

काठमाडाैं । तपाईंले ती विद्यार्थीहरूका बारेमा सुन्नु भएको होला जो अध्ययनका लागि भारत त गए तर उनीहरूको भारतीय डिग्री नक्कली साबित भयो । अहिले भारतको विश्वविद्यालय अनुदान आयोग ( युजीसी )ले दर्जनौं नक्कली विश्वविद्यालयको सूची सार्वजनिक गरेको छ । युजिसी (UGC ) को यो सूचीमा २० वटा संस्था त्यस्ता छन् जसलाई नक्कली घोषित गरिएको छ ।
यी विश्वविद्यालयलाई आयोगले मान्यता दिएको छैन अर्थात् आयोगको नियमबमोजिम यीनलाइ कुनै पनि शैक्षिक उपाधि प्रदान गर्ने अधिकार छैन। त्यस्ता संस्थाको डिग्री उच्च शिक्षा वा जागिरका लागि कतै मान्य हुँदैन। राज्यको कानून, केन्द्रीय कानून वा प्रान्तीय कानून अन्तर्गत स्थापित वा १९५६ को युजिसी अधिनियम अन्तर्गत डिग्री प्रदान गर्ने अधिकार दिइएको संस्थाहरूले मात्र डिग्री प्रदान गर्न सक्छन् । भारतको राजधानी दिल्लीमा सबैभन्दा बढी यस्ता नक्कली विश्वविद्यालय (आठ) छन् ।
तिनको नाम यसप्रकार छ :
– अल इन्डिया इंस्टिट्यूट अफ पब्लिक एन्ड फिजिकल हेल्थ साइन्सेज, स्टेट गभरमेन्ट यूनिभर्सिटी, कमर्शल यूनिभर्सिटी लिमिटेड, यूनाइटेड नेशन्स यूनिभर्सिटी, भोकेशनल यूनिभर्सिटी, दिल्ली एडीआर सेंट्रिक ज्यूरिडिकल यूनिभर्सिटी, इन्डियन इंस्टीट्यूशन अफ साइन्स एन्ड इन्जिनियरिङ, विश्वकर्मा ओपन यूनिभर्सिटी फर सेल्फ एम्पलायमेंन्ट, आध्यात्मिक विश्वविद्यालय । यूजीसीको सूचीमा उत्तर प्रदेशका नक्कली विश्वविद्यालयहरू पनि समेटिएका छन् । यसमा गान्धी हिन्दी विद्यापीठ, नेशनल यूनिभर्सिटी अफ इलेक्ट्रो कम्प्लेक्स होमियोप्याथी, नेताजी सुभाष चन्द्र बोस यूनिभर्सिटी र भारतीय शिक्षा परिषद् समावेश छन् ।
यसैगरी आन्ध्र प्रदेशको क्रिष्ट न्यू टेस्टामेन्ट डिम्ड युनिभर्सिटी र बाइबल ओपन युनिभर्सिटी अफ इन्डिया, इन्डियन इन्स्टिच्युट अफ अल्टरनेटिभ मेडिसिन र इन्स्टिच्युट अफ अल्टरनेटिभ मेडिसिन एण्ड रिसर्च इन पश्चिम बंगाल, बडगनवी सरकार वर्ल्ड ओपन युनिभर्सिटी एजुकेशन सोसाइटी (कर्नाटक), सेन्ट जोन्स युनिभर्सिटी (केरला), राजा अरबी विश्वविद्यालय (महाराष्ट्र) तथा श्री बोधि एकेडेमी अफ हायर एजुकेशन (पुन्डुचेरी) पनि नक्कली घोषित भएका छन् । यस क्रममा भारतका कुनै पनि शैक्षिक संस्थामा भर्ना हुनु अघि युजिसीको वेबसाइटमा जाँच गर्नु अनिवार्य छ ।
आफूले अध्ययन गर्न लागेको संस्थालाई सरकारी मान्यता छ कि छैन बुझेर मात्र भर्ना लिनुपर्छ । यसका साथै युजीसीले कुनै संस्थाले युजीसी ऐन उल्लंघन गरी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको भए युजिसी लाई इमेल मार्फत जानकारी गराउन पनि अपिल गरेको छ ।

प्रतिक्रिया