आइतबार, जेठ ५, २०८२

मृत्यु घटनामा न्याय दिलाइ दिन प्रेमराजको याचना

नेपालखोज २०८० साउन २२ गते ९:२१

दार्चुलाका कृष्णानन्द बडूको दुबईमा भएको मृत्यु शङ्कास्पद रहेको भन्दै मृतकका छोरा प्रेमराज न्यायका लागि धनगढीमा सुरक्षा निकाय र सञ्चार माध्यममा धाइ रहेका छन् ।

भरखरै एसइई उत्तीर्ण गरेका १८ वर्षीय प्रेमराजले भने, ‘मेरो बुबाको दुबईमा के कति कारणले मृत्यु भएको भन्ने बारेमा आफूलाई अहिलेसम्म जानकारी छैन, समाचार लेखेर सहयोग गरिदिनु पर्‍यो ।’ कृष्णानन्दको मृत्यु नभएर हत्या भएको आशङ्का मृतकका परिवारले गरेका छन् । मृतकका श्रीमती द्रोपती एक छोरी र एक छोरासहित हाल धनगढीमा कोठा भाडामा लिएर बसिरहेका छन् ।

प्रेमराजले भने, ‘भेटेजतिका सबैबाट सहयोगको आश्वासन पाए पनि अहिलेसम्म आफूहरुले न्याय पाउन सकेका छैनौँ ।’ प्रेमराजको यति बेला धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अन्य मन्त्रालय, प्रदेश प्रहरी कार्यालय, राजनीतिक दलका नेता र सञ्चारकर्मीलगायतलाई भेटेर न्यायका लागि पहल गरी दिनमै दिनचर्या छ ।

दार्चुलाको ब्यास गाउँपालिका–५ धौलाकोट गाउँ घर भएका प्रेमराजले बुबा कृष्णानन्द बडूको वि.सं २०७९ कात्तिक ६ गते दुबईमा मृत्यु भएको बताए । निधनको कारण घर परिवारका सदस्यलाई अहिलेसम्म जानकारी छैन ।

प्रेमराजकी आमा द्रौपतिले भने, ‘श्रीमान्को मृत्युपछि आफू बेसहारा बनेका छौँ, सहयोग गरिदिने कोही भेटाएका छैनौँ, श्रीमान् बितेको १० महिना पुगिसक्दासम्म यसको कारण अहिलेसम्म थाहा छैन ।’

मृतकका परिवारले नेपाली दूतावासले पहल नगरी दिँदा दुबईमा काम गरिएको कम्पनीबाट पाउनुपर्ने रकम नपाएको गुनासो गरेका छन् । प्रेमराजले आग्रह गरे, ‘बुवाको दुबईमा रहेको गाडी बिक्री गरेर आउने पैसा र प्रत्येक महिनामा दुबईको बैंकमा जम्मा हुने गरिएको रकम पठाइ दिन सहयोग गरिदिएको भए हुन्थ्यो ।’

चार वर्ष पहिले दुबई जानु भएका कृष्णानन्द विसं २०७९ फागुनमा घर आउने तयारीमा हुनुहुन्थ्यो । आफू घर आउने खबर गरेपछि खुसी भएका घर परिवारका सदस्य अचानक उहाँको मृत्युको खबरले शोकमा डुबेका थिए ।

घटनाको २२ दिनपछि मृतकको शव घर पुगेको थियो । श्रीमती द्रौपती पतिको मृत्युको घटनापछि आफूलाई संहाल्न सकेका छैन । लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा श्रीमान्को विदेशमा भएको मृत्युको घटनापछि उनमा बेचैनी छ ।

उनकी ११ वर्षीया छोरी धनगढीमै कक्षा ५ मा अध्ययनरत रहेकी छन् । छोराछोरीलाई राम्रो शिक्षा दिक्षा दिन भनेर श्रीमान्कै सल्लाहमा द्रौपती आफू छोराछोरीसहित धनगढी आएर बसेका थिए ।

प्रतिक्रिया