सैलुन सञ्चालक इस्राफेलको जीवन-संघर्ष : जुन पेसाले लखपति बनायो त्यसैले सडकमा पुर्यायो

नेपालखोज २०८० साउन २३ गते १७:३०

काठमाडौं । दाह्री–कपाल काट्न या मिलाउन सैलुन जाने बानी धेरैको हुनुपर्छ। सैलुनमा गएर आफूलाई ‘स्मार्ट’ बनाउन नचाहने कमै होलान्। तर के सैलुन चलाउने मान्छेको जीवन साँच्चै ‘स्मार्ट’ हुन्छ होला त ? त्यो थाहा पाउन इस्राफेल महमदलाई पढ्नुपर्ने र उनको जीवन–संघर्ष बुझ्नुपर्ने हुन्छ।

भारतको सितामणि जिल्लामा जन्मिएका इस्राफेल महमद (३७) सैलुन सञ्चालक हुन्। साधारण परिवारमा जेठो सन्तानका रुपमा जन्मिएका उनले गाँउकै स्कुलमा कक्षा तीनसम्म अध्ययन गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकाले लाउन–खानै समस्या पथ्र्यो। त्यसमाथि इस्राफेलको थप अध्ययन असम्भवजस्तै बन्यो। अन्ततः बुबा रियाजत महमदले तीन कक्षादेखि स्कुल छुटाइदिए। ‘म पढ्न कक्षाकै सबैभन्दा जान्ने थिएँ। कक्षामा कसैलाई नआएको कुरा मलाई आँउथ्यो। तर के गर्नु अवस्था नाजुक भएपछि लागेका चाहानाहरु हाँसेरै मार्नुपर्ने हुँदो रहेछ,’ इस्राफेल बताउछन् ।

इस्राफेलका बुबा दिनभर ज्यालादारी गर्थे । ज्यालादारीबापत साहुले कहिले पाँच किलो गहुँ त कहिले पाँच किलो मकै दिन्थे। ‘ज्यालादारीबापत चामल दिँदैनथे,’ इस्राफेलले भने, ‘किनकि चामल महँगो हुन्थ्यो।’

इस्राफेलकी आमा सकिना खातुन महमद पनि ज्यालादारी नै गर्छिन् । बुवाले हलो जोत्ने र आमाले धान रोप्ने, गोड्ने लगायत काम गर्थे। ५० वर्षकै उमेरमा इस्राफेलका बुवा टिबी रोगका कारण बिते।

११ वर्षको उमेरमा आफ्नो घरको समस्या देखेर बस्न मन लागेन। बिहान ५–६ बजेतिर उठेर डिल्ली भागेँ,’ उनी भन्छन्, ‘डिल्ली गएको पहिलो दिन अन्जान सहरमा यताउता भौतारिएँ। केही खाऊँ साथमा पैसा छैन। अरुले खाइरहेको ठाँउमा पुगेर माग्दा हप्काँउथे।’

दिल्ली पुगेको दिन इस्राफेलको सुताइ रेल्वे स्टेसनमै भयो। भोकले रातभर निद्रा परेन। बिहानै उठेर ओहोरदोहोर गर्ने मान्छेसँग हात फैलाएर सहयोग मागे। तर कसैले केही दिएनन्। ‘मलाई भौँतारिएको र सानो उमेरको देखेर एउटा होटलको साहुले बोलाएर एक छाक खाना खान दिए । त्यसै होटलमा खान आउने मान्छेलाई दया लागेर मेरोमा काम गर्न जाऊँ भनेर लने, ’ इस्राफेलले दिल्लीको भोगाइ सुनाए ।

चौधरी थरका एक व्यक्तिले इस्राफेललाई नयाँ दिल्लीको मुवारकपुर लगेर सब्जी किन्ने, खाना बनाउने, फूलमा पानी हाल्ने काम गर्न लगाए । त्यहाँ तीन महिनासम्म काम गरे। तर साहुले पैसा दिएनन्। तलब माग्दा उल्टै कामबाट निकालिदिएर आफ्नो साथीकोमा पठाइदिए। ‘त्यहाँ पनि तीन महिनासम्म गाडी धुने काम गरेँ,’ इस्राफेलले भने, ‘साहु निकै दयालु हुनुहुँदो रहेछ। महिनाको तीन सय दिन्छु भनेर काममा राखे। पछि कामप्रतिको लगाव र मिहिनत देखेर तीन महिनाको एक हजार रुपैँया दिए । तर पुरानो स्टाफ आयो भनेर फेरि त्यहाँबाट मैले निस्कनुपर्यो। आखिर गरिब न परियो ! जहाँ गए पनि ठक्कर त खानु नै लेखेको हुने रहेछ।’

एक दिन इस्राफेल कपाल काट्न भनेर सैलुन गएछन् । कपाल काट्दा हजामले कैँची चलाएको मन परेछ। त्यसपछि मलाई पनि काम सिकाइदिनुस् न भने । ‘आफ्नो कपाल काट्न जाँदा कपाल काटेको र कैँची चलाएको मन पर्यो,’ इस्राफेलले सुनाए, ‘सैलुनवालासँग दुःख सुनाएर काम सिकाइदिनुस् भनेँ। आफूसँग भएको एक हजार पनि दिएँ। अनि एक वर्षमा पूरै काम सिकेँ।’

दुःखले पोलेपछि सिकाउनेले भन्दा पनि राम्रोसँग कपाल काट्न थालेको इस्राफेल बताउछन् । काम राम्ररी गर्न जानेपछि त्यो सैलुन छोडेर अर्को सैलुनमा काम गर्न थाले। चार महिना काम गर्दा ६ हजार भारु कमाए। ‘अलिकति पैसा भएपछि आँट पनि आउने रहेछ,’ इस्राफेलले हाँस्दै भने, ‘६ हजारको सदुपयोग गर्न ११ भाडा तिरेर सैलुन खोलेँ। दिनमा दुई हजार भारुसम्म कमाइ हुन थाल्यो। यसरी त्यहाँ तीन वर्षसम्म सैलुन चलाउँदा ५–१० हजार पठाइरहेँ।’

तीन वर्षपछि इस्राफेल घर फर्किए । केही समयमै कमाएको पैसा सकियो। त्यसपछि काठमाडौंको यात्रा तय गरे । त्यतिबेला उनको उमेर १७ वर्ष थियो। घुम्ने रहर जागेर काठमाडौं आएको बताउने उनी जोरपाटीमा साथीको कोठामा बसे । उनको साथीले सिरक डसना बनाउने काम गर्थे।

‘साथीलाई त्यही काममा सघाउन थालेँ। एक हप्तामा १८ सय रुपैयाँ कमाएँ। त्यो पैसाले एउटा ऐना, कैँची, कुर्सी, ब्लेड किनेर खुला ठाँउमा कपाल काट्न बसेँ। पहिलो दिनमै ५०० कमाइ भयो,’ इस्राफेल भन्छन् ।

बिस्तारै काम चलिरह्यो। दिनकै हजार रुपैयाँ कमाइ हुन थाल्यो। ‘अब सधैँ खुला ठाउँमा बसेर मात्रै हुँदैनजस्तो लाग्यो,’ इस्राफेलले भने, ‘त्यसपछि जग्गा भाडामा लिएर सानो टहरो बनाएँ र त्यसैमा १० वर्ष कपाल काटेँ। त्यसबेला कपाल काटेको प्रतिव्यक्ति ४० देखि ५० रुपैँया र दाह्री काटेको ३० रुपैयाँ थियो।’

दैनिक कमाइ १५ सयसम्म हुन थालेपछि अझै राम्रो गरौँ भन्ने लाग्यो इस्राफेललाई। त्यसपछि शंखरापुर अस्पतालअगाडि पनि अर्को सैलुन सञ्चाल गर्न थाले । दुई जना कामदार राख्दा पनि दैनिक दुई हजारसम्म आम्दानी हुन्थ्यो। ‘पैसा कमाउन थालेपछि आइडिया पनि आँउदो रहेछ,’ संघर्षशील जीवनमा इस्राफेलको अनुभव छ, ‘फेरि अर्को शाखा चामुण्डा गेट छेउमा खोलेँ। त्यहाँबाट पनि दैनिक पाँच हजारसम्म कमाइ हुन थाल्यो।’

‘छाप्रो, शंखरापुर अस्पताल छेउ र चामुण्डा गेटको सैलुन गरी दैनिक २० हजारसम्म कमाइ हुन थाल्यो,’ उनी भन्छन्, ‘६ जना स्टाफलाई तलब दिएर पनि राम्रै पैसा बस्थ्यो। लाग्थ्यो अबको जिन्दगी राम्रो भयो। अब मेरा दिन खुसीले बित्छन्।’

यही बीचमा इस्राफेलको विवाह भयो। छोरी पनि जन्मिईन्। तर समय फेरि ओरालै झर्न थाल्यो।

‘तीन वर्षसम्म त पसल राम्रैसँग चल्यो,’ सुस्केरा हाल्दै सुनाउछन् इस्राफेल, ‘स्टाफहरू विदेश जाने भए। शंखरापुर र चामुण्डाको पसल ३०–३० हजारमा बेचेँ। त्यसपछि एक्लैले जोरपाटीको सानो बजारमा १२ वर्ष सैलुन चलाएँ। दैनिक तीन हजारसम्म पनि कमाएँ। तर, कोरोना महामारीका कारण लकडाउन भयो। त्यसपछि जिन्दगीले कहाँको कहाँ पुर्यायो पुर्यायो।’

लकडाउनले गर्दा सबै कुरा ठप्प भयो। अहिलेसम्म कमाएको सबै खान–बस्नमै सकियो। उल्टो नपुगेर चिनजानका मान्छेसँग ऋण गरेर गुजारा चलाउन थाले इस्राफेल।

‘सानो बजार तीन महिनादेखि अर्को ठाँउमा सर्यो,’ इस्राफेल भन्छन्, ‘घरबेटीले कपाल काट्ने ठाँउको सट्टा भाँडा पसलका लागि कोठा दिए र अर्कौले त्यो ठाँउ ओगट्यो। मलाई अझै ५ लाख ऋण छ।’

अहिले इस्राफेल पुरानै अवस्थामा फर्किएका छन्। यो सब समयले गरायो। जोरपाटी चोक इट्टा डिपो छेउमा एउटा प्लाइको टुक्रामा ऐना झुन्डाएर र कुर्सी राखेर २२ वर्षअगाडिकै अवस्थामा बसेका छन्। छोरीको नामबाट सैलुनको नाम राखिएको छ– मसुमा हेयर ड्रेसर सैलुन।

‘केही समयअघि नगरपालिकाको टोली आएर छाता र कुर्सी लग्यो,’ उदासी भरिएको स्वरमा इस्राफेल भन्छन्, ‘नगरपालिकामा गएर आफ्नो सामान माग्दा १५०० रुपैयाँ दिनु अनि मात्र सामान फिर्ता गर्छु भन्यो। अबदेखि त्यहाँ सैलुन पनि नराख्नु भनेको छ। के गर्ने हो म आफैँ सोच्न सकिरहेको छैन।’

इस्राफेलपत्नी ठेलामा साग बेच्छिन्। त्यो पनि नगरपालिकाको टोलीले उठाएर लगिदियो। त्यसपछि त्यो काम छोडिदिए। ‘अब त खान लाउनै कठिन भैसक्यो,’ इस्राफेल दुःख पोख्छन्, ‘कोठा भाडा तिर्न, छोरी पढाउन समस्या भइसक्यो।’

अब के गर्नुहुन्छ त भन्ने प्रश्नमा इस्राफेल भन्छन्, ‘कोही दयालु मान्छेले सैलुन खोलिदिए काम गर्थें। पैसा नभएपछि दिमाग खल्बलिँदो रहेछ।’ –INS

प्रतिक्रिया