झ्याप्पझ्याप्प बिजुली किन गइरहेको छ ?

कहिले खाना पकाउँदा पकाउँदै झ्याप्प त कहिले लुगामा आइरन लगाउँदा लगाउँदै झ्याप्प । अचेल यस्ता अनुभव धेरैले गर्दैछन् । अहिले मध्य बर्खाको समय। खोलानाला सबै बढेका छन् ।
खोलामा जलप्रवाहमा आधारित बिजुलीमा अत्यधिक निर्भर नेपालमा उत्पादन उच्च विन्दुमा पुग्ने समय पनि यही । अनि फेरि यही समयमा किन बत्ती बेलाबेला गइरहेको छ ?
नेपाल विद्युत प्राधिकरणको जबाफ छ – वर्षाको समयमा हुने प्राविधिक गडबडी ।
कस्तो गडबडी ?
अहिले देखिएका बिजुली जाने प्रवृत्तिलाई प्राधिकरणका प्रवक्ता एवं प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईले बर्खाको मौसमले निम्त्याउने जटिलतासँग जोडेका छन्।
‘हाम्रो देशभरिको प्रसारण लाइनको जालो धेरैवटा जङ्गल हुँदै फैलिएको छ । पूर्वदेखि पश्चिमसम्मका विद्युत केन्द्रहरूबाट निस्कने बिजुली प्रसारण गर्दा कहीँ न कहीँ जङ्गलको क्षेत्र पर्छ,’ उनले कारण खुलाउँदै भने ।
‘बर्खाका बेला जङ्गलका केही ठाउँमा जमिन पानीले भिजेर कमजोर हुने गर्छ। त्यसपछि वरपरका रुखहरू अलि बाङ्गिएर तार छोइदिने वा हावाहुरीले हाँगा लत्रिएर छोइदिने अवस्था हुन्छ । त्यस्तो अवस्थाका कारण अहिले देशभरि बिजुली प्रसारणमा अवरोध पैदा हुने गरेको छ ।’
बिजुलीको स्वाभाविक प्रसारणमा अवरोध भएर उत्पन्न भएका ‘अर्थ फल्ट’ अनि बाह्य तत्वले प्रसारण लाइनमा छुने जस्ता घटनाले अहिले बेलाबखत समस्या पार्ने गरेको उनले सुनाए ।
‘यसकै कारण चाहे काठमाण्डूमा होस् वा देशका अन्य भागमा बिजुलीको निर्वाध प्रवाहमा समस्या परेको हो,’ भट्टराईले भने ।
ती बाहेक कतै कतै स्थानीय आगलागीजस्ता दुर्घटना, पोल सार्ने कार्य, ट्रान्सफर्मरमा गडबडी वा नियमित मर्मतसम्भारका कारण पनि बिजुली गएको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया