पत्रकार गिरीविरुद्धको पक्राउ पुर्जीले सामाजिक सञ्जाल तात्यो, बृहद् नागरिक आन्दोलनद्वारा भर्त्सना

काठमाडाैं । पत्रकार एवं सम्पदा संरक्षण अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
गिरीले सामाजिक सञ्जालमा पत्रकारविरुद्ध तथानाम लेखेको भन्दै साइबर अपराध मुद्दामा पर्वतका पत्रकार गणेश पौडेल, छवि तिवारी, सन्देश थापालगायतले प्रहरीमा किटानी जाहेरी दिएका थिएका थिए। सोही किटानीको आधारमा गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
पत्रकार गिरीले व्यक्तिगत जीवनमाथि नै असर पर्ने गरी आक्षेप लगाएको भन्दै उनीहरूले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए।
कालीगण्डकीको अस्तिस्तव नै संकटमा पर्ने गरी अवैध रूपमा भइरहेको दोहन कार्य रोक्न गिरीले पछिल्लो समय कालीगण्डकी बचाऔं अभियान चलाउँदै आएका छन् । अभियानअन्तर्गत कालीगण्डकीमाथि लेखिएका रचना सामाजिक सञ्जालमार्फत नै प्रकाशित गर्दै आएका थिए ।
आँखैअगाडि कालीगण्डकी दोहन हुँदा स्थानीय पत्रकारले दोहन कार्य रोक्न कुनै भूमिका नखेलेको बरु उल्टै पालिका तथा तस्करसँग मिलेमतो गर्दै आएको भन्दै गिरीले सामाजिक सञ्जालमै तिखो टिप्पणी गरेका थिए ।
सामाजिक सञ्जाल तातिँदै, बृहद् नागरिक आन्दोलनद्वारा भर्त्सना
गिरीविरुद्ध भएको पक्राउ पुर्जीलाई लिएर सामाजिक सञ्जाल तातिएको छ। अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेकै भरमा पत्रकार आत्तिएर साइबर अपराध मुद्दामा पक्राउन पुर्जी जारी गर्न लगाउन स्थितिसम्म पुग्नु दुःखदायी घटना भएको टिप्पणी भइरहेको छ।
अहिले सम्बन्धित पत्रकारलाई किटानी फिर्ता लिन सञ्जालमार्फत नै दबाब बढेको छ। यस्तै सामाजिक सञ्जालमा लेखक, कवि, पत्रकार, अधिकारकर्मी, बुद्धिजीवीलगायतले ‘आइ एम विथ आरके अदिप्त गिरी’ ह्यासट्यागसहित गिरीप्रति ऐक्यबद्धता जनाउन थालेका छन्।
यसै क्रममा बृहद् नागरिक आन्दोलनले यो कदमको भत्र्सना गरेको छ। पर्वतको पत्रकारितामा देखिएका विकृत पक्ष, पत्रकारको तस्करसँग मिलेमतो, पत्रकारकारको नाममा देखिएको लाखौँको बेरुजु रकम र कालीगण्डकी नदीको अवैधन दोहनबारे निरन्तर बोलिरहेका पत्रकार गिरीविरुद्ध पक्राउ पुर्जी जारी हुनु दुखद कुरा भएको बृहद् नागरिक आन्दोलनले जनाएको छ।
‘प्राकृति सम्पदाको चरम दोहन, सामाजिक बेथिति तथा पीतपत्रकारिताविरूद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्दै फरक मत राखेकै आधारमा साइबर अपराध आकर्षित गरी गिरीमाथि जारी गरिउको पक्राउ पुर्जी नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार मान नभई दुराशययुक्त कदम पनि हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘बृहद् नागरिक आन्दोलन यस कार्यको घोर भर्त्सना गर्दछ।’ – INS

प्रतिक्रिया