भयानक मौसमको सामना गरिरहेको युरोप

लाट्भियामा गएक मङ्गलबार आएको आँधीमा परी एक जनाको मृत्यु भयो भने ८ जना घाइते भए । लाटभिया, इस्टोनिया र लिथुआनियामा सोमबार नै शक्तिशाली हावा, वर्षा र चट्याङले आक्रमण गरेको थियो। यसको चपेटामा परेर भवन र सवारी साधनहरुमा क्षति पुग्यो भने रुखहरु जरा सँगै उखेलिए । सञ्चारमाध्यममा आइरहेका समाचार अनुसार त्यहाँ सोमबारदेखि नै हजारौं घरमा विद्युत् आपूर्ति बन्द छ ।
स्लोभेनियामा बाढी र पहिरो
स्लोभेनियामा जर्मन राहत कार्यकर्ताहरूको पहिलो समूहले भयानक बाढी र पहिरोपछि राहत र उद्धार कार्य सुरु गरेको छ । सोमबार मात्रै उद्दार टोलीका विज्ञहरु उत्खनन यन्त्र लिएर यहाँ पुगेका थिए । स्वयंसेवक र उद्धारकर्मीको टोली पनि त्यहाँ पुगिरहेको छ । स्लोभेनियाको अवस्था दुई वर्षअघि आर उपत्यकामा आएको भीषण बाढीपछिको जर्मनीको जस्तो छ। सन् २०२१ को जुलाईमा आएको बाढीमा १८५ जनाको ज्यान गएको थियो भने सयौं घरमा ठूलो क्षति पुगेको थियो ।
सप्ताहन्तमा स्लोभेनियाले इयुको प्रकोप राहत संयन्त्र गुहार्यो । त्यसपछि जर्मनी र फ्रान्सले तुरुन्तै उपकरणसहित उद्धारकर्ताको टोली पठाए । बाढी र पहिरोका कारण त्यहाँ धनजनको ठूलो क्षति भएको छ । धेरै गाउँबाट मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ । सडक र रेलमार्ग पानीमा डुबेका छन् । अधिकारीहरूले भनेका छन ( स्लोभेनिया, अस्ट्रिया र क्रोएसियामा छ जनाको मृत्यु भएको छ।
स्वीडेन र नर्वे आँधीको चपेटामा
यसबीच हंस आँधीसँगै आएको बाढीसँग स्क्यान्डिनेभियाका देशहरू पनि लडिरहेका छन् । बाढी र पहिरोका कारण मंगलबार नर्वेका धेरै सडकहरु बन्द भएका थिए । विभिन्न नगरपालिकाका सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा लगिएको छ । नर्वेजियन मौसमविद्हरूले चरम मौसमी अवस्थाका कारण उत्पन्न संकटबाट मुक्तिको आशा नरहेको बताएका छन् । त्यहाँ भारी वर्षाको सम्भावना कायमै छ, विशेष गरी ओस्लोको उत्तरी क्षेत्रहरूमा ।
हंस आँधीले पहिले स्वीडेनमा पाइला राख्यो र त्यसपछि चाँडै नर्वेतिर सर्यो । स्टकहोमबाट करिब ३०० किलोमिटर टाढा हुडिक्सवल नजिक दुईवटा यात्रुवाहक रेल पटरीबाट खसेका थिए । यो आँधी आगामी केही दिनसम्म स्क्यान्डिनेभियाका देशहरूमा रहने आशंका गरिएको छ । स्वीडेनको एउटा सहरमा मंगलबार राति आरे खोलाको पानीले किनार भत्काए पछि स्थिति तनावग्रस्त बन्यो । मिडियामा आएका तस्विरमा सडकमा पानी देखिएको छ । यसबाट ठूलो क्षति भएको प्रहरीले जानकारी दिएको छ । गोटा आल्भ नदीले पश्चिमी तटीय शहर गोथेनबर्गमा पनि आफ्नो किनारा भत्काउँदैछ ।
दक्षिणी अस्ट्रियामा पनि बाढीले यातायात व्यवस्थामा ठुलो क्षति पुर्याएको छ । यसका कारण करिब १५।४ मिलियन युरो बराबरको संरचना नष्ट भएको अनुमान गरिएको छ । अस्ट्रियाको दक्षिणी प्रान्त क्यारिन्थियामा बाढी र पहिरोका कारण १७० ठाउँमा सडक ध्वस्त भए । मौसम विभागका अनुसार दक्षिणी अस्ट्रियामा बिहीबारदेखि सोमबारसम्म अगस्टको औसतभन्दा बढी वर्षा भयो।
स्लोभेनियासँगको सीमा क्षेत्रमा पाँच दिनमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । अस्ट्रियाको आपतकालीन सेवाहरूले स्लोभेनियामा ठूलो क्षति पुर्याएको आँधीपछि पानी घट्दै गएको र स्थिति नियन्त्रणमा रहेको बताएका छन्। यद्यपि दमकलका कर्मचारी भने सडक र भवनको भग्नावशेष सरसफाइमा व्यस्त छन् । यसबाट कति घर र पसलमा क्षति पुगेको छ भन्ने आधिकारिक जानकारी भने प्राप्त भएको छैन ।
डीपीए

प्रतिक्रिया