काजीमान पुल

यहाँहरूको वरपर पनि यस किसिमको कुनै पुल छन् भने जानकारी पठाउनुहोला । यस पुलको बारेमा जानकारी बटुल्न सहयोग गर्नुहुने विराट बेघालाई धेरै धेरै धन्यवाद । साथै यहाँ राखिएको पुल काबेली खोलामा रहेको पुरानो पुलको फोटो हो । तर यो पुल नै काजीमान बाजेले बनाउनु भएको हो वा अन्य हो जानकारी प्राप्त हुन सकेन । यसको लागि क्षमा चाहन्छु । यहाँ लेखिएको ऐतिहासिक तथ्यहरू भने सत्य हुन् ।
देशको विकासको लागि सरकार जति जिम्मेवार हुन्छ । त्यति नै देशका जनता पनि जिम्मेवार हुनु पर्दछ । राणा कालमा केही राणाहरूले आफ्नो व्यक्तिगत सुख सुविधाले देश विकास भएन भनेर राणाहरूलाई गाली गर्न थाल्यौ । राणा गए देश बन्छ भन्दै क्रान्तिमा होमिएर २००७ सालमा जनताको सरकार आयो भन्दै हामी कुर्लियौ । तर त्यसपछिका एक दशकको इतिहासलाई राम्ररी नियाल्यौ भने झन् दुखद दशकको रूपमा देख्दछौ ।
स्वार्थले भरिएका नेता त्यही बेला जन्मिएका थिए भने कार्यकर्ता पनि आफ्नो दुनो सोझ्याउने खालका नै बने । चुनाव हुनु अगावै च्याउ सरि राजनैतिक दलहरू जन्मिए । दाइ भाइमा पनि एक साथ रहन सकेन । दाइले भाइलाई विश्वास गरेन । सात साल पछि बलियो पार्टीको रूपमा उभिएको काँग्रेस प्रति पनि गाउँघरमा यति वितृष्णा जन्मियो कि छिमेकीको झगडामा पनि गाली गर्ने शब्दको रूपमा एउटा नयाँ शब्द जन्मियो, “तेरो घरमा काँग्रेस पसोस्” ।
पंचायतकालमा पनि राजा महेन्द्रको देश विकासको उद्देश्यमा केही पञ्चहरू व्यक्तिगत स्वार्थमा लागे । पञ्चे चोर देश छोडका नाराहरू गुन्जिन थाले । राजा वीरेन्द्रले २०३६ सालमा जनतालाई बहुदल कि निर्दल भनेर सोधे । तर जनताले अझै पञ्चायती व्यवस्था नै रोजे । राजाले दलहरूलाई केही सहजता बनाइदिए । ४६ सालमा त दलिए राजनीति सुरु भयो । त्यस पछि भाँडभैलो पनि सुरु भयो ।
देशका प्रमुख उद्योगहरू निजीकरणका नाममा बेचिए । रोजगारीका अवसरहरू गुम्दै गए । देशको युवाहरूको श्रम विदेशी भूमिका लागि बिक्री भयो । युवाका अमृत जस्तो पसिना विदेशी भूमिमा सिञ्चित भयो । देशमा डलर, पाउन्ड, येन, रियालहरू भित्रिए । विकसित मुलुकमा पुगेका नेपालीको पसिना मात्र होइन शरीर नै विदेशमा निलाम भए । पिआर, ग्रिन कार्ड र आइडीको लोभमा नेपाली विदेशी भए । बाबु आमा गर्वित भए तर नेपाल आमा रोए ।
अहिले देश रेमिट्यान्सले चलेको छ । तर ती देश चलाउन रेमिटेन्स पठाउने भने गरिब बाबुआमाका गरिब छोराछोरी हुन जो साउदीको मरुभूमिमा र मलेसियाका जङ्गलमा पसिना बगाउँछन् । अमेरिका र युरोप पुग्ने ती धनी बाबुआमाका छोराछोरीले देशमा खासै पैसा पठाउँदैनन् ।
देशको माया गर्दैनन् । कुन बेला पिआर अथवा ग्रिन कार्ड पाइन्छ भन्दै वकिलका पछि भागिरहेका हुन्छन् । देशको नाममा ठुला ठुला गफ त दिन्छन् तर कुनै अर्थतन्त्रलाई टेवा दिँदैनन् । यी जमातले बाबुआमाको लागि पनि खासै केही गर्दैनन् । बरु बेबी केयरका लागि भने बाबु आमा खुब सम्झन्छ र घुमाउने नाममा बच्चा हेरिदिन बोलाउँछन् ।
देशको लागि केही गर्नै पर्छ भन्दै स्वदेशको माया गर्ने पनि यहाँ कमी छैन । सामाजिक काम गर्दै स्वदेशमा रमाउनेको जमात पनि ठुलै छ । पश्चिम नेपालमा दलवीर सिंह कामीले आफ्नै पौरुषले थुप्रै झोलुङ्गे पुल बनाए । लिम्बुनी बोजुले आफ्नै निजी पैसा खर्च गरेर लिम्बुनी पुल बनाए । दोलखाका प्रयागराज पण्डितले झोलुङ्गे पुल मात्र बनाएनन् ।
पुलको टिकाउको लागी फलामका साङलामा तेल दल्नको लागि नै जग्गा पनि दान गरेर गुठी बनाए । त्यस्तै पूर्वमा सिटौला पुल भन्ने पनि छ । इतिहास नभेटिए पनि कुनै सिटौला थर भएकाले बनाइदिएको झोलुङ्गे पुल । यस्तै खोज्दै जाने हो भने गाउँलेको लागि यस किसिमको पुल बनाइदिने धेरै भेटिन्छ । तर यहाँ चर्चा गर्न गइरहेको छु – काजीमान पुलको ।
देशमा जङ्गबहादुरको बंशविनाश पछि धिरशम्शेरका सत्र भाइ छोराको राज चलेको थियो । वीरशम्शेर प्रधानमन्त्री तथा श्री ३ बनेका थिए । विकासको सुरुवातको रूपमा वीर अस्पताल, वीर टावर (घण्टाघर), काठमाडौं भक्तपुरमा खानेपानीको लागि कलधाराको सुरुवात गरेका थिए । वीर धारा नाम गरिएका यी धाराहरू विभिन्न स्थानमा बनाउन लगाएका थिए । यही समय पूर्वी नेपालको पाँचथर जिल्लाको च्याङथापुको फलैचा भन्ने ठाउँमा वि.सं. १९४८ मङ्सिर १५ गतेको दिन काजीमान लिम्बुको जन्म भएको थियो । सम्पन्न बेघा परिवारमा जन्मिएका काजीमान गाउँका जिम्वाल सुब्बा थिए ।
च्याङथापुको इतिहास कोट्याउने हो भने कुनै बेला लिम्बु राजाको दरबार रहेको ठाउँ थियो । नाम्रेकमा याङवरकका राजा हिल्लिहाङको दरबार थियो । यिनै हिल्लिहाङका छोरी थुङवामुक्माको विवाह सिक्किमका राजा तेन्दु नामग्यालसंग भएको थियो । पछि नाम्रेकबाट याङवरकमा राजधानी सारे पछि पूर्वको शक्तिशाली राज्य बन्न पुगेको थियो । वि.सं.१८३० मा पृथ्वीनारायण शाहका कमान्डर रामकृष्ण कुँवर तथा अभिमानसिंह बस्न्यात लिम्बुवान राज्य विजय अभियानमा आउँदा निकै लामो समय लडाइ भएको थियो । कुनै बेला युद्ध स्थल रहेको याङवरकमा अहिले पनि ऐतिहासिक स्थल तथा चिनोहरू भेटिन्छ ।
यही ऐतिहासिक थलो याङवरक गोरखा राज्यमा विलय भए पछि काजीमान बेघा सुब्बा भएका थिए । वि.सं. १९७० मा काजीमानको छिमेकी गाउँ ताप्लेजुङ जिल्लाको बेचम्बुका फुङमा मेयाङ्बोसंग विवाह भएको थियो । सामाजिक काममा तल्लीन रहने काजीमानको अधिकांश समय गाउँको हितको लागि नै रहने गर्दथ्यो ।
उनले राणाकलामा नै वि.सं. १९९५ सालमा भारतीय सहर दार्जिलिङ नजिकै रहेको विजनवारीबाट फलामे लट्ठाहरु ल्याएर च्याङथापुको मेवा भुरुङवा खोला दोभानमा झोलुङ्गे पुल बनाइदिएका थिए । निकै वर्षसम्म यो पुलले गाउँलेहरूलाई निकै राहत दिएको थियो । २०१६ सालमा मेवा खोलामा आएको बाढीले सो पुल भत्काइदियो ।
२०१७ सालमा मेवा भुरुङ्वा दोभानमा भत्काएको पुलको सामग्री लगेर ताप्लेजुङको पुछारमा चाक्सी बोटेको काबेली खोलामा झोलुङ्गे पुल निर्माण गरेको थियो । जुन पुल अद्यावधिक रहेको छ । समाजसेवामा लागि रहने काजीमानले त्यसपछि फलैँचामा नै रहेको गढी भन्ज्याङमा धर्मशाला बनाइदिएका थिए ।
२०२९ सालमा चिवाभन्ज्याङमा पनि धर्मशाला बनाइदिएका थिए । चिवा भन्ज्याङ नेपालको सिक्किमसंग जोडिएको पूर्वी नाका हो ।जीवनको उत्तरार्ध तिर वि.सं २०३३ सालमा ८५ वर्षको उमेरमा नेपालको एक धार्मिक स्थल तथा पूर्वको गोसाइकुण्डको रूपमा प्रख्यात तिम्बु पोखरीमा ठूलो घण्ट चढाएका थिए । यो घण्ट भने बेतेनीका सुब्बा कृपानन्द माङ्मोसंग मिलेर चढाएका थिए ।
यस्तै राणाकलामा बेघा लिम्बुहरू पलायन भएर भारतको सिक्किम, आसाम, मणिपुर, भुटान गई बेघाहरूको सङ्ख्या स्वाट्टै घट्न जाँदा समस्या पर्न गएको हुँदा गैर बेघाहरूलाई आमन्त्रण गरी आफ्नो कुलमा भित्राइ बेघा थर उपलब्ध गराइ सामाजिक सहिष्णुता कायम गराएका थिए । यसरी बेघाहरू विलुप्त हुनबाट जोगाएका थिए । अहिले सबै बेघाहरू एक भएर रहेका छन् ।
यसरी जीवनभर समाजको लागि केही न केही गर्दै ९२ वर्षको उमेरमा वि.सं. २०३९ साउन १५ गते वहाँको देहान्त भएको थियो । वहाँका अहिले नाति नातिनीहरू विभिन्न स्थानमा बसोबास गर्नुहुन्छ ।

प्रतिक्रिया