शनिबार, जेठ ५, २०८१

मर्ने क्रममा रहेको तारा ‘अन्तिम अवस्था’मा कस्तो देखिन्छ ?

नेपालखोज २०८० साउन २५ गते १५:३३

काठमाडौं । सुदूर अन्तरिक्षमा अवस्थित एउटा ताराको ‘अन्तिम अवस्था’का अद्भुत तस्बिरहरू जेम्स वेब स्पेस टेलिस्कोप (जेडब्ल्यूएसटी) ले खिचेको छ । ती तस्बिरमा ‘रिङ नेब्यला’ भनिने उज्यालो ग्यासको सेलजस्तो आकृति स्पष्ट रूपमा देखिन्छ ।

उक्त नेब्यला अर्थात् निहारिका पृथ्वीबाट २,६०० प्रकाशवर्ष टाढा छ। एउटा मृतोन्मुख ताराका बाह्य तहहरू अन्तरिक्षमा उछिट्टिएपछि त्यो नेब्यला बनेको थियो ।

ती तस्बिरहरूबाट ताराको जीवनचक्र बुझ्न महत्त्वपूर्ण जानकारी प्राप्त हुनसक्ने वैज्ञानिकहरूले बताएका छन् ।

नेब्युलाको विस्तृत र रङ्गीन आवरणबाहेक ती तस्बिरमा नेब्यलाको बीचमा अवस्थित ‘ह्वाइट ड्वार्फ’ वरिपरि रहेको भित्री भाग पनि स्पष्ट रूपमा देखिने डा. माइक बार्लोले बताए । उनी ती तस्बिरहरू सार्वजनिक गर्ने वैज्ञानिक टोलीका सहप्रमुख हुन् ।

‘हामी एउटा ताराको जीवनका अन्तिम चरण देखिरहेका छौँ – यो भविष्यमा सूर्यले भोग्नुपर्ने नियतिको पूर्वावलोकन हो। जेम्स वेबले खिचेका तस्बिरबाट विस्मयकारी ब्रह्माण्डीय घटनाहरू हेर्न एउटा झ्याल खुलेको छ।’

‘हामी ‘रिङ नेब्यला’लाई ‘प्ल्यानिटरी नेब्यली’ कसरी बन्छन् र विकसित हुन्छन् भनेर अध्ययन गर्ने प्रयोगशाला बनाउन सक्छौँ।’

उन्नाइसौँ शताब्दीमा तिनको वक्राकृति देखेर खगोलशास्त्री विलिअम हर्शलले नेब्यलाहरूलाई ग्रह भन्ठानेका थिए । त्यसैले तिनलाई ‘प्ल्यानिटरी नेब्यली’ सङ्ज्ञा दिइएको थियो । तीमध्ये रिङ नेब्यला धेरै चिनिएको छ। यो ‘लाइरा’ नक्षत्रमण्डलमा पर्छ र पृथ्वीबाट गर्मीयामभरि देखिन्छ ।

प्रतिक्रिया