प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड

नेपालखोज २०८० साउन २५ गते १८:१३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरणअनुसार १२ अर्ब ३३ करोड बराबरको नाफा कमाएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा छ अर्ब १० करोड रहेकामा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर रु १३ अर्ब ३७ करोड पुगेको थियो । गत आवमा सुक्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब ८१ अर्ब रहेकामा अहिले बढेर करिब एक खर्ब १८ अर्ब पुगेको छ । प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड पुगेको छ ।

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले संस्थाको वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत् पुर्याउन विद्युतीकरण, विद्युत् आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाको विस्तार एवं सुदृढीकरणमा जोड दिइएको जानकारी दिए ।

प्रतिक्रिया