राष्ट्रियसभा बैठक स्थगित

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसद आसनबाट उभिराखेपछि बैठक स्थगित भएको छ ।
बैठकको प्रारम्भमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समसामयिक विषयमा कुरा राख्न दलीय आधारमा सांसदलाई समय दिएका थिए ।
बैठकमा गङ्गाकुमारी बेल्वासेले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनजीविकाका सवालमा कुरा राख्न नपाएको बताइन्। उनले मुलुकमा डेङ्गुको प्रकोप फैलिएको, लम्पी स्कीन रोगका कारण पशु मरिरहेका र बाढीपहिरोको समस्याले जनजीवन प्रभावित भएकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराइन् ।
सांसद भगवती न्यौपानेले देशको रक्षा र सुशासन कायम गर्न बाध्यताले सदन अवरोध गर्नुपरेको उल्लेख गर्दै नेपाललाई तस्कारीको थलो बनाउन नहुने बताइन्। सरकार जनताप्रति संवेदनशील भएर सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाएर छानबिनको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो ।
सांसद जितेन्द्रनारायण देवले लामो समयदेखि संसद् अवरुद्ध गर्नु समस्याको समाधान नभएको उल्लेख गर्दै जनताले चाहेको सुशासन, भ्रष्टाचार न्यूनीकरण र विकास चाहना पूरा गर्नुपर्नेमा सबै लाग्नुपर्नेमा जोड दिए ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले बजेट पास गरेपछि बनाउनुपर्ने कानुन बनाउनुपर्ने अवस्थामा सदन अवरुद्ध हुँदा आमनेपालीले खुसी नभएको उल्लेख गर्दै बाढी पीडितलाई राहत, क्षतिपूर्ति दिन आग्रह गरिन् ।
सांसद मोहम्मद खालिदले नेपाली जनता राजनीतिक दलका कारण निराश उत्पन्न भइरहेको हुँदा सदन अवरुद्ध गर्न नहुनेमा जोड दिए । सांसद तुलप्रसाद विश्वकर्माले मुलुकका अगाडि जनताका जनजीविकाको सवाल, बाढीपहिरोका कारण जनजीवन कष्टकार बन्दै गएको र त्यसप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
सांसद ड. विमला राई पौडेलले मन्त्रालयको नेतृत्वमा शङ्का उत्पन्न भएको हुनाले त्यही निकायले गरेको अनुसन्धान सत्यतथ्य होला त भन्ने प्रश्न भएकाले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको स्पष्ट पारिन् । राष्ट्रियसभाको अर्को बैठक यही साउन ३१ गते १ बजे बस्नेछ ।
प्रतिक्रिया