दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको चपेटामा

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले एक चेतावनी विज्ञप्ति जारी गर्दै यतिबेला विश्वमा सबैभन्दा बढी तापक्रम दक्षिण एसियामा रहेको जनाएको छ । जलवायु परिवर्तनका प्रभावहरू तीव्र हुँदै गैरहेका छन्, असामान्य रूपमा उच्च तापक्रमले बालबालिकाहरूलाई सबैभन्दा बढी असर गर्छ । युनिसेफले अनुमान गरे अनुसार यस क्षेत्रका १८ वर्ष मुनिका बालबालिकामध्ये ७६ प्रतिशत अर्थात करिब ४६ करोड अत्यधिक उच्च तापक्रम भएका क्षेत्रमा बस्छन्। जबकि विश्वव्यापी रूपमा तीन मध्ये एक बालबालिका मात्र प्रभावित छन् ।
ग्लोबल वार्मिङ बढ्दै गएको छ र तथ्याङ्कले दक्षिण एसियाका लाखौं बालबालिकाको जीवन र स्वास्थ्य गर्मीको लहर र उच्च तापक्रमका कारण जोखिममा रहेको देखाएको छ – युनिसेफका दक्षिण एसियाका क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले भनेका छन् । संयुक्त राष्ट्रसंघले नेपाल र भुटानलाई छोडेर अफगानिस्तान, बंगलादेश, भारत , माल्दिभ्स तथा पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेको बताएको छ । एक अनुमानअनुसार यी देशमा वर्षको कम्तीमा ८३ दिन तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि रहन्छ ।
यस्तो उच्च तापक्रममा बालबालिकाले आफ्नो शरीरलाई अनुकूल बनाउन नसक्ने र जलवायु परिवर्तनसँग आफ्नो शरीरको तापक्रम समायोजन गर्न सक्ने क्षमता नभएको विज्ञहरू बताउँछन् । विजेसेकेराका अनुसार साना बालबालिकाले गर्मी सहन सक्दैनन् । यी बालबालिकाले आगामी वर्षहरूमा थप र अधिक बारम्बार र अधिक तीव्र तातो लहरहरूको सामना गर्नेछन् ।
जीवाश्म ईन्धनको अत्यधिक दोहनले उत्पन्न ग्लोबल वार्मिङका कारण गर्मीको लहर बढि तातो, लामो र निरन्तर बनाएको छ, साथै यसले अन्य चरम मौसमी अवस्थाहरू जस्तै आँधीबेहरी र बाढीलाई तीव्र बनाउँदैछ। हानिकारक ग्याँसको उत्सर्जनका कारण विश्वले पहिले नै धेरै समस्या झेलिरहेको र यस दशकमा कार्बन प्रदुषणलाई धेरै हदसम्म घटाउनुपर्ने बैज्ञानिकहरुले बताएका छन् ।
गत महिना ग्लोबल वार्मिङका कारण युरोप, एसिया र उत्तरी अमेरिकाका धेरै भागमा कडा गर्मीले नराम्रो असर गरेको थियो । यसका अतिरिक्त जङ्गली आगोले पूरै क्यानाडा र दक्षिणी युरोपका केही भाग जलायो । संयुक्त राष्ट्र संघ र युरोपेली संघका अनुगमनकर्ताहरुले जुलाई महिना इतिहासकै सबैभन्दा तातो महिना भएको बताएका छन् । उनिहरुले यो विश्व जलवायुको भविष्यको झलक भएको चेतावनी दिएका छन् ।
स्रोत : एपी र रोयटर्स

प्रतिक्रिया