रथयात्रामा पाँचवटै महानगरका प्रमुखलाई निम्तो

नेपालखोज २०८० साउन २७ गते ७:४०

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ । यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिएको छ । कृष्णाष्टमीको भोलिपल्ट भदौ २१ गते विराटनगरमा ऐतिहासिक रुपमा राधाकृष्णको रथयात्रा निकाल्ने परम्परा वर्षौँदेखि चलिआएको छ ।

रथयात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु एवं भक्तालु सहभागी हुने गरेका छन् । रथयात्रालाई सहज बनाउन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वको टोलीले रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युत्को तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरेको छ । रथ घुमाउन सहज हुने गरी तारको व्यवस्थापन र सडक र फुटपाथलाई व्यवस्थित बनाइने प्रमुख कोइरालाले बताए ।

यसपटकको रथयात्रामा पाँच वटै महानगरका प्रमुख, मोरङका सबै पालिकाका प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरिने उनले जानकारी दिए । प्रमुख कोइरालाले विराटनगरको पहिचानसित जोडिएकाले यसपटकको रथयात्रालाई भव्य बनाइने बताए । यसपटक रथयात्र महानगरको संयोजनमा हुँदैछ ।

प्रतिक्रिया