दोलखाको तेल दलिने पुल

सुनिल उलक २०८० साउन २७ गते ८:२८

एउटा भिन्न इतिहास बोकेको दोलखाको उत्तरमा रहेको यो झोलुङ्गे पुल संरक्षणको पर्खाइमा रहेको छ । यस पुलको आफ्नै इतिहास छ । यस पुललाई बिशेष रुपले तेल दलिने पुलको रुपमा चिनिने गर्दछ । हुन त यस पुलमा पुल दल्न छाडेको पनि पचास वर्ष भयो । तर पनि यस पुलको बिशेषता अझै पनि कायम नै रहेको छ ।

यस पुल बारेमा जानकारी रेडियो नेपालका दोलखा सम्वाददाता चिरञ्जीवी मास्केले केही महिना अगाडि रेडियो नेपाल अनलाइनमा लेखेका थिए । यहाँ वहाँकै अनुमतिमा वहाँको लेखमा केही फेरबदल सहित प्रस्तुत गर्न गइरहेको छु । तस्विरमा पनि मसंग रहेको ५३ वर्ष अगाडिको तस्विर भन्दा केही भिन्न देखिन्छ ।

खारे, मार्बु, बुलुङ, ओराङ, भाइचुङ, चांखु गाउँहरुका जनताहरुले तामाकोशीमा कुनै पुल नहुँदा आवतजावतमा दुख पाएका थिए । पुलको आबश्यकता त थियो तर राणाकालमा कसले बिन्ति चढाउन जाने र बिन्ति चढाएर पनि राणा सरकारले बनाइ दिन्छ भन्ने पनि निश्चित थिएन । यस्तो परिस्थितिमा स्थानिय छबिलाल आचार्यले वि.सं. १९७३ सालमा दुइ साङ्ले फलामको साँघु बनाइदिएका थिए ।

दुइ साङ्ले साँघु कमजोर तथा जिर्ण पनि बन्दै गरे पछि स्थानिय समाजसेवी प्रयागराज पण्डितको संयोजकत्वमा कोमलप्रसाद, कलाधर, देवदत्त, गौरीकान्त लगायत गाउँलेहरु मिलेर २००४ सालमा चार साङ्ले झोलुङ्गे पुल पुल बनाइदिए । पुलको लागि आबश्यक फलामका मोटा मोटा सिक्रीको आबश्यकता थियो ।

सिक्री भारतीय बजारबाट खरिद गरेर ल्याउनु त्यति सहज थिएन । तसर्थ काँचो फलाम रामेछापको ठोसे मेक्चनको फलाम खानीबाट ल्याइ जामुनेमा नै आरन बनाएर काँचो फलामबाट स्थानिय कामीहरुको सहयोगले ठूला ठूला फलामा साङ्लो बनाइ पुल बनाइएको थियो । प्रयागराजले आफ्नै निजि खर्चमा ठोसेबाट काँचो फलामका धाउ खरिद गरेर त्यसलाई आरनमा गालेर त्यसलाई पिटेर साङ्लो बनाइएको थियो ।

लामा लामा साङ्लो बनाइसकेपछि नदीको दुइ किनारमा बलिया खाँबो गाडेर सिक्री बाँधेर त्यसको बिच बिचमा लामो फलामे तारहरुले लामा लामा मुढालाई अड्याएर पुल बनाइएको थियो । यसरी बनाइएका पुलहरु हेर्दा असुरक्षित भए पनि निकै बलिया हुन्थे । पुल बलियो भए पछि भरियाहरु ठूला ठूला भारी बोकेर पुलमा ओहोरदोहोर गर्न सक्ने भए ।

यस प्रकारले झोलुङ्गे पुल बनाइदिने समाजसेवी प्रयागराज पण्डितलाई केवल पुल बनाइदिएर सन्तुष्टी भएन । उनलाई यो पुल लामो अवधी सम्म गाउँलेहरुको लागि उपयोगीपूर्ण र टिकाउ होस भन्ने पनि चिन्ता लागि रह्यो । घामपानीले फलाममा खिया लागेर फलाम खिइन थाल्ने र झोलुङ्गे पुल कमजोर भइ भाच्चिने सम्भावना हुने हुँदा उनले पुलमा प्रयोग भएका फलाममा खिया नलागोस भनेर तेल हाल्ने ब्यबस्था पनि गराएका थिए ।

नेपालमा रहेका हजारौ झोलुङ्गे पुलहरुमा दोलखाको जामुनेको झोलुङ्गे पुल एक मात्र उदाहरणीय पुल हो । जसमा प्रयागराजले पुलको मर्मत सम्भार तथा तेल दल्नको लागि आफ्नो निजि जग्गा गुठी प्रयोजनको लागि छोडेका थिए । गुठीको जग्गा कमाउनेले नै पुलको मर्मत सम्भार तथा पुलमा तेल दल्ने कार्य गर्नुपर्दथ्यो । तर दुर्भाग्य गुठी कमाउनले पुलको मर्मत सम्भार तथा तेल दल्ने कार्य प्रयागराज जीवित हुँदा सम्म मात्र गरे ।

वि.सं. २०२८ साल तिर प्रयागराजको निधन भयो । प्रयागराजको निधन पछि पुलको रखवाला तथा साधारण मर्मत गुठी कमाउने बलबहादुर खड्काले गरिरहेका छन् । तर तेल दल्ने काम भने २०२८ साल पछि नै बन्द भयो । २५ वर्षे उमेरमा बलबहादुर खड्कालाई प्रयागराजले नै पुलको जिम्मा दिन आफूले स्थापना गरेको गुठी जग्गामा ल्याएर राखेका थिए । सरकारको खासै नजर नपुगेको ऐतिहासिक पुलको साक्षी बनेर पुलको कुरुवाको रुपमा जीवित छन् ।

२०४४ सालमा एकपटक मात्र सो बेलाको जिल्ला पञ्चायतले पुलको मर्मत गरिदिएको भएको थियो । यसपछि यसै वर्ष छबिलालका सन्ततीहरुले रकम संकलन गरेर पुलको मर्मत गरिदिएका छन् ।

चरिकोट लामाबगरको सडक नजिकैबाट जोडिएको तथा तामाकोशीमा बिभिन्न नयाँ पक्की पुलहरु पनि बनिसकेको हुँदा यो ऐतिहासिक पुलको महत्व घटे पनि एउटा इतिहासको साक्षी बनेको यो पुलको ऐतिहासिकता जनताले नियाल्ने अवसरहरु पाइरहने छ । साथै स्वर्गीय छबिलाल तथा प्रयागराजको आत्माले पनि सुखानुभुती पाउँथे होला ।

प्रतिक्रिया