किन गर्न पर्छ विरोध गर्न पाउने अधिकारको संरक्षण ?

विरोध गर्न पाउने मौलिक मानवअधिकार हो तर सत्तामा पुग्नासाथ सबैजसोलाई विरोध गरेको मन पर्दैन । मन त्यसैकारण विरोध गर्न पाउने अधिकारको संरक्षणका लागि कदम चाल्न पर्नेमा जोड दिइएको छ। एम्नेस्टी इन्टरनेसनल नेपालले अन्तर्राष्ट्रिय युवा दिवस पूर्व सन्ध्यामा शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विरोध गर्न पाउने अधिकारबारे अन्तरपुस्तागत संवाद’ कार्यक्रमका वक्ताहरूले दीर्घकालीन र देशको हित अनुकूल हुने गरी विरोध गर्ने संस्कारको विकास गर्नु पर्नेमा जोड दिएका हुन् ।
संवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो राजनैतिक यात्राका दौरानमा विरोध गरेकै कारण निकै कठिनाइको सामना गर्नु परेको उल्लेख गर्दै आफू असहमत भएको विषयमा खुलेर विरोध गर्न पाउनु पर्ने बताए ।
उनले विगतमा आफूले लोकतन्त्र स्थापनार्थ विरोध गर्दा देशद्रोहको मुद्दा भोग्नु परेको उल्लेख गर्दै प्रहरी हिरासतमा निकै पीडादायी दिन बिताउनु परेको स्मरण समेत गरे । नेकपा एमालेका सांसद ठाकुर गैरेले युवाहरूको विरोधबाट नै मुलुकमा परिवर्तन सम्भव भएकाले राष्ट्रियता र जनजीविकाका सवालमा आवाज बुलन्द पार्नुपर्नेमा जोड दिएका छन् । ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले विरोधका लागि मात्रै विरोध गर्ने परिपाटी बदल्नु पर्ने बताए । उनले लोकतान्त्रिक मुलुकमा कुनै पनि विषयमा आफूलाई मान्य नहुने कुरामा धारणा राख्न पाइने भएकाले यो नै लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गरे । उनले आफू पनि मानव अधिकारका विभिन्न आन्दोलनमा कष्टपूर्ण अवस्थाको सामना गरेर अहिलेको अवस्थासम्म आएकाले कुनै पनि कुरामा विरोध जनाउँदा त्यसको स्तरमा ध्यान दिन आवश्यक रहेकामा समेत जोड दिएका छन् ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले विरोध गरेकै भरमा राज्यतर्फबाट गरिने निर्मम यातना मानव अधिकार विरुद्ध हुने बताए । उनले कुनै पनि विषयमा असहमति एवं विरोध जनाएकै भरमा हुने गरेका दमनको अन्त्य हुनु पर्ने उल्लेख गरेका छन् ।
एम्नेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले नेपालमा विरोध गर्ने अधिकार र नागरिक आन्दोलनको योगदानबाट हाल सम्मका परिवर्तन संस्थागत भएको बताए । उनले एम्नेस्टीले मानव अधिकारको रक्षाका लागि सदैव आफ्ना अभियानहरूलाई निरन्तरता दिइरहेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय युवा दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको ‘नेपालमा विरोध गर्न पाउने अधिकारबारे अन्तरपुस्तागत संवाद’ कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले विरोध गर्न पाउने मौलिक मानवअधिकारलाई क्षयिकरण गर्ने राज्यहरूका व्यापक र तीव्र प्रयासहरूको सामना गर्न २०२२ देखि विश्वव्यापी अभियान ‘प्रोटेक्ट द प्रोटेस्ट’ अर्थात ‘विरोधको संरक्षण गरौँ’ सञ्चालन गर्दै आएको जानकारी दिए ।
एम्नेस्टीले नेपालमा पनि विरोध गर्ने अधिकार र नागरिक आन्दोलनको परिधिको संरक्षण र सम्वर्द्धन गरिनुपर्ने माग गर्दै विभिन्न अभियानात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।
स्रोत : INS

प्रतिक्रिया