बंगलादेशी नागरिकलाई बन्धक बनाउने सात पक्राउ

नेपालखोज २०८० साउन २८ गते १८:२५

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बंगलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले अप्रेशन ‘ब्राभो किलो’ नाम दिएर उक्त गिरोहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बङ्गलादेश गाजीपुर घर भई काठमाडौँ महानगर–९ कालिमाटी बस्ने ४७ वर्षीय अमिर होसेन, बङ्गलादेश बरिसाल घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बङ्गलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मियाँ र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली, बङ्गलादेश ढाका घर भई काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बङगलादेश ढाका घर भई काठमाडौं कपुरधारा बस्ने २१ वर्षीय जाहङ्गिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।

पक्राउ परेको उक्त गिरोहले बङ्गलादेशी सात जना नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै नेपाल ल्याई काठमाडौँका विभिन्न स्थानमा रहेका होटलमा बन्धक बनाइ राख्ने र उनीहरुका परिवारसँग पैसा माग्ने गरेको खुल्न आएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए ।

उक्त घटनामा प्रहरीले आठ जना बङ्गलादेशी नागरिकलाई सकुसल उद्धार गरेको आजको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । rss

प्रतिक्रिया