शनिबार, वैशाख २२, २०८१

टाट पल्टिन सक्ने खतरामा च्याट जिपिटी डेभलपर कम्पनी ओपन एआई

नेपालखोज २०८० साउन २९ गते १७:४०

काठमाडौं । च्याट जिपिटी डेभलप गर्ने कम्पनी ओपन एआई आगामी वर्ष टाट पल्टिन सक्ने आकलन गरिएको छ। एनालिटिक्स इन्डिया म्यागेजिनको एक रिपोर्टअनुसार च्याट जिपिटी चलाउन कम्पनीले अहिले दैनिक ७ लाख डलर खर्च गरेको छ।

रिपोर्टअनुसार ओपन एआई तीव्र गतिमा आफ्नो फाइनान्सियल रिसोर्समा काम गरिरहेको छ। तर जिपिटी–३.५ र जिपिटी–४ का लागि पेड सर्भिस सुरु गरेपछि यसको लागत उठाउन सक्ने गरी आम्दानी गर्न सकेको छैन।

माइक्रोसफ्टको लगानीबाट चलिरहेको कम्पनी

रिपोर्टका अनुसार ओपन एआईमा माइक्रोसफ्टले १० अर्ब डलर लगानी गरेका कारण नै कम्पनी अहिले चल्न सकेको हो। ओपन एआईले सन् २०२३ मा २० करोड डलर वार्षिक आम्दानी हुने आकलन गरेको छ। यस्तै आगामी वर्ष अर्थात् २०२४ मा आम्दानी बढेर १ अर्ब डलर पुग्ने पनि कम्पनीको अनुमान छ। तर अहिलेको कम्पनीको अवस्थालाई हेर्दा त्यो स्थितिमा पुग्न सक्ने देखिँदैन।

कम्पनीको घाटा दोब्बर

ओपन एआईले २०२२ नोभेम्बरमा च्याट जिपिटी लन्च गरेको थियो। त्यसयता २०२३ सम्म कम्पनी ५४ करोड डलरभन्दा बढी घाटा भइसकेको छ। यस्तै च्याट जिपिटीका प्रयोगकर्ताको संख्या पनि घट्दै गइरहेको छ। २०२३ जुलाईको तुलनामा जुनमा यसका प्रयागकर्ता १२ प्रतिशतले घटेका छन्। जुलाईमा १.७ अर्ब प्रयोगकर्ता रहेकामा घटेर १.५ अर्ब पुगे।

प्रतिक्रिया