तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा

ढोरपाटन । तीन दिनदेखि अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।
बिहीबार राति बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो जाँदा कोरिडोर अवरुद्ध भएको थियो । शुक्रबार र शनिबार खुलाउने प्रयास गरिए पनि भारी वर्षाका कारण सञ्चालन हुन सकेको थिएन ।
आइतबार बिहानैदेखि बागलुङ नगरपालिकाको मेशिन प्रयोग गरी कोरिडोर खुलाइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । कोरिडोरसँगै बागलुङ–कुश्मिसेरा सडक पनि तीन दिनदेखि नै अवरुद्ध भएको थियो ।
पहिराले सडक क्षतविक्षत बनाएकाले बागलुङ जिल्ला सदरमुकामसँगको सम्पर्क टुटेको थियो । सडक अवरुद्ध भएसँगै बलेवा, कुश्मिसेरा र बरेङ क्षेत्रका हजारौँ नागरिक प्रभावित भएको उनी बताउछन् ।
यसको दीर्घकालीन समाधान गर्न नसकिए समस्या दोहोरी रहने खड्काको भनाइ छ । तीन दिनदेखि सडक अवरुद्ध हुँदा कोरिडोरमा यातायातका साधनहरु ठप्प भएका थिए । सडक खुलेपछि आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया