डुरान्ड कपमा आर्मीको हार

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतको डुरान्ड कपको आफ्नो दोस्रो खेलमा पराजित भएको छ । कोक्राझार साइ सेन्टर रंगशालामा सोमबार भएको खेलमा आर्मी चेन्नई फुटबल क्लबसँग ३–० ले पराजित भएको हो ।
पहिलो खेलमा आर्मी दिल्ली फुटबल क्लब संघ १–१ को बराबरीमा रोकिएको थियो । चेन्नईको जितमा फारख चौधरी, रहिम अली र मोहम्मद रफिकले गोल गरेका थिए । २२ औं मिनेटमा फारखको गोलबाट चेन्नईले अग्रता लिएको थियो ।
३८ औं मिनेटमा रहिम पेनाल्टीम गोल गर्दा चेन्नई पहिलो हाफमा २–० ले अगाडि रह्यो । ८३ औं मिनेटमा मोहम्मदले गोल गरेपछि चेन्नईको जित सहज रह्यो ।
दुई खेलमा पहिलो हार बेहोरेको आर्मी समूह इको पुछारमा छ र टोलीको एक अंक छ । दुवै खेल जितेको चेन्नई ६ अंकसहित अन्तिम आठमा पुगेको छ । पहिलो खेलमा चेन्नईले हैदराबाद फुटबल क्लबलाई ३–१ ले हराएको थियो । आर्मीले समूह चरणको अन्तिम खेल भदौ ५ गते हैदराबादसँग खेल्नेछ ।
दिल्लीको २ र हैदारबादको १ अंक छ । समूहमा अब चेन्नई र दिल्ली तथा आर्मी र हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । आर्मीले अन्तिम खेल जितेमा र चेन्नईसँग दिल्ली बराबरमा रोकिए वा हारेको अवस्थामा आर्मी उत्कृष्ट उपविजेताका रुपमा अन्तिम आठमा पुग्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया