शुक्रबार, वैशाख १२, २०८२

‘अब मदिराको बोतलमा पनि चेतावनी सन्देश लेखिनुपर्ने हुनसक्छ’

नेपालखोज २०८० साउन ३० गते ८:३४

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले अब मदिराको बोतलमा पनि चुरोटको डब्बाको जस्तो चेतावनी सन्देश लेखिनुपर्नेकुरा बताएको छ । रक्सी स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरालाई कसैले नकार्न सक्दैन तर यसले मदिरा प्रेमीहरूलाई असर गर्दैन बरु, कसरी पिउँदा कम हानि हुन्छ भनेर प्रमाणित गर्न उनीहरू विभिन्न उपाय प्रयोग गर्छन् ।

कहिले अलि/अलि गरेर पिउने भनिन्छ भने कहिले थोरै मात्रामा पिउनाले कुनै असर गर्दैन भनिन्छ । यद्यपि हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मदिराका बारेमा भनेका कुरा चिन्ताको विषय हुन सक्छ ।

डब्लुएचओले क्यान्सरको खतरा घाँटीमा अल्कोहलको पहिलो थोपाबाट सुरु हुने कुरा बताएको छ । द ल्यान्सेट पब्लिक हेल्थमा प्रकाशित डब्ल्यूएचओको विज्ञप्तिमा भनिएको छ – तपाईंले कति मदिरा सेवन गरिरहनुभएको छ भन्ने कुराले फरक पार्दैन। यो कुरा आउँदा त्यस्तो कुनै सुरक्षित स्केल छैन जसका आधारमा यो हानिकारक हुँदैन भनेर भन्न सकियोस ।

नसर्ने रोग व्यवस्थापनका इन्चार्ज डा. क्यारिना फरेरा/बोर्गेसले मदिरा सेवनको मात्राले शरीरलाई हानी नगर्ने दाबी गर्न नसकिने बताएकी छिन् । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो अध्ययनमा मदिरा सेवनले मुख, घाँटी, कलेजो, अन्ननली, स्तन र आन्द्राको क्यान्सरलगायत सात प्रकारको क्यान्सरको जोखिम बढाएको बताएको छ ।

नयाँ तथ्याङ्कले के देखाउँछ भने युरोपका धेरै क्षेत्रमा क्यान्सरको एक मात्र कारण रक्सी हो। यहाँका मानिसहरु धेरै मदिरा पिउँछन् र यसैले २० करोड भन्दा बढी मानिस क्यान्सरको जोखिममा छन् । यदि शरीरमा पहिले नै क्यान्सर कोशिकाहरू छन् भने यसले तिनलाई अझ बढाउन सक्छ । यस्तो अवस्थामा निश्चित मात्रामा रक्सी पिउनु सुरक्षित हुनसक्छ भन्ने दाबी गर्न सकिँदैन ।

डा. कारिना फरेराले सुर्ति सेवनका बारेमा चुरोटको बट्टामा दिइने चेतावनि जस्तै मदिराको बोतलमा पनि क्यान्सरसँग सम्बन्धित चेतावनी लेख्नुपर्ने समय आएको दाबि समेत गरेकि छिन् ।

प्रतिक्रिया