दिल्लीका महिलाहरु घरेलु हिंसाको सिकार

दिल्ली महिला आयोगले एक रिपोर्ट सार्वजनिक गर्द ! भनेको छ – जुलाई २०२२ देखि जुन २०२३ सम्म आयोगको हेल्पलाइन नम्बर १८१ मा ६.३ लाख भन्दा बढी कल आएका थिए जसका आधारमा ९२,००० केस दर्ता गरिए । ती मध्ये अधिकांश कल घरेलु हिंसासँग सम्बन्धित थिए । यति ठूलो कल संख्याले भारतको राजधानीमै महिला तथा केटीहरू ठूलो मात्रामा घरेलु हिंसाको सिकार भएको देखाउँछ ।
दिल्ली महिला आयोगले जारी गरेको तथ्याङ्क अनुसार घरेलु हिंसाका ३८ हजार ३४२ मामिला दर्ता भएका छन् अर्थात् हरेक दिन करिब ११५ वटा घटना बाहिर आउँछन् जसमा कैयौं महिला तथा बालिका आफ्नै घरमा पीडित छन् । त्यसपछि छिमेकी सँगको झगडाका ९ हजार ५१६, बलात्कार र यौन दुव्र्यवहारका ५ हजार ८ सय ९५, अपहरणका ४ हजार २ सय २९ र साइबर अपराधका ३ हजार ५ सय ५८ घटना छन् ।
महिलाहरु सुरक्षित छैनन्
दिल्ली महिला आयोगकि अध्यक्ष स्वाती मालीवाल भन्छिन् – पछिल्लो सात वर्षमा हामीले ४० लाख कलहरू प्राप्त गरेका छौं र एक वर्षमा हामीले १८१ हेल्पलाइनमा ६.३ लाखभन्दा बढी कलहरू अटेन्ड गरेका छौं र ती कलका आधारमा ९२ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् ।
उनले भनिन – आयोग हेल्पलाइन नम्बर १८१ मार्फत विपदमा परेका महिला तथा बालिकालाई सदैव सहयोग उपलब्ध छ । हामी यो प्रतिवेदन केन्द्र र राज्य सरकारहरूलाई पठाउनेछौं र राजधानीमा महिला तथा केटीहरू विरुद्ध बढ्दो अपराध नियन्त्रण गर्न उनीहरूको सहयोग खोज्नेछौं।
प्रतिवेदन अनुसार अधिकांश घटना सोमबार रिपोर्ट गरिएको थियो जबकि सबैभन्दा कम संख्या आइतबार रिपोर्ट गरिएको थियो। दैनिक औसतमा उच्चतम कल भोल्युम दिउँसो १२ बजे र साँझ ५ बजेको बीचमा हुन्छ, मध्यरातमा कम केस रिपोर्ट गरिन्छन ।
यौन दुव्र्यवहारदेखि प्रहरीको उत्पीडनसम्मका उजुरी यसमा छन् । त्यस्तै सेवासम्बन्धी १ हजार ३१९, सम्पत्ति विवादमा ४२१, प्रहरी दुव्र्यवहारका ३५४, आश्रय गृहका लागि निवेदन ३४८, महिलामाथि खतरनाक आक्रमणका २९८ तथा चोरीका २३५ मुद्दा परेको डीसीडब्ल्यूको यो तथ्यांकले देखाएको छ । यसबाहेक आयोगमा तेस्रोलिङ्गीबाट ५८ तथा पुरुषबाट १३७ उजुरी परेका छन् ।
रिपोर्ट गरिएका घटनाहरूमध्ये करिब ४१.५ प्रतिशत (३८,१४०) २१ देखि ३० वर्ष उमेर समूहका महिलासँग सम्बन्धित थिए। त्यसपछि ३१ देखि ४० वर्ष उमेर समूहमा २१.८ प्रतिशत (२०,०५८) थिए । ११ देखि २० वर्ष उमेर समूहका महिलाबाट १८.४१ प्रतिशत (१६,९३९) उजुरि प्राप्त भएका छन् भने ७.२६ प्रतिशत (६,६८६) ४१ देखि ५० वर्ष उमेर समूहका छन् । मालीवाल भन्छिन् – दिनहुँ धेरै फोन आइरहेका छन् जसले महिलासँग गलत व्यबहार भैरहेको छ र यसमा सरकारले कारबाही गर्नुपर्छ भन्ने देखिन्छ ।








प्रतिक्रिया