फाइनल पुग्न स्वीडेन र स्पेन भिड्दै

नेपालखोज २०८० साउन ३० गते ११:५४

काठमाडौं । फिफा महिला विश्वकप २०२३ अन्तर्गत पहिलो सेमिफाइनलमा मंगलबार स्पेन र स्वीडेन भिड्दैछन् ।

न्युजिल्याण्डको अकल्यान्डमा हुने खेलमा दुवै टोली पहिलो पटक उपाधि जित्ने सम्भावना जीवित राख्ने प्रयासमा हुनेछन् । स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो भने स्वीडेनले यसअघि ५ पटक सेमिफाइनल खेलेको छ ।

स्वीडेनले सन् २००३ मा क्यानडालाई हराउँदै एकमात्र फाइनल यात्रा तय गरेको थियो । तर त्यसबेला टोली उपाधि जित्नबाट बन्चित भएको थियो । फाइनलमा जर्मनीले २-१ को जित निकाल्दै उपाधि जितेको थियो ।

स्पेन अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने सुरमा छ । यसअघि एकमात्र सेमिफाइनलको रुपमा सन् १९९७ को युरोपेली च्याम्पियनसिपमा स्पेनले इटालीसँग २-१ को हार बेहोरेको थियो ।

स्पेनले सेमिफाइनल यात्रा तय गर्ने क्रममा लगातार दुई युरोपेली प्रतिद्वन्द्वीलाई पराजित गरेको छ । स्विटजरल्याण्डलाई ५-१ ले हराएको स्पेनिस टोलीले नेदरल्यान्ड्सलाई २-१ ले स्तब्ध पारेको थियो । स्पेनले क्वाटरफाइनलमा जित हासिल गर्दा विश्वकपमा पहिलो पटक अतिरिक्त समय पनि खेलेको थियो ।

स्वीडेनले यी दुई टोलीको पछिल्लो ११ मध्य ७ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक यी दुई टोलीले २०२२ को अक्टोबरमा खेलेको खेल १-१ को बराबरीमा सकिएको थियो । स्वीडेनले सेमिफाइनल यात्रा तय गर्ने क्रममा पछिल्लो तीन संस्करणको विजेता अमेरिका र जापानलाई हराएको हो ।

प्रतिक्रिया