चितवनमा दूध उत्पादन घट्यो

चितवन । जिल्लामा दूध उत्पादन घटेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११ दशमलव ९ प्रतिशत घटेको जानकारी दिए ।
उनका अनुसार अघिल्लो आवमा ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा दूध उत्पादन नौ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ ।
उ्नका अनुसार अघिल्लो आवमा दैनिक सरदर तीन लाख पाँच हजार पाँच सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक दुई लाख ६८ हजार आठ सय ८४ लिटर दूध उत्पादन भएको छ ।
उनका अनुसार विसं २०७७ बाट सुरु भएको लम्पीस्किन रोगको सङ्क्रमणले विस्तारै दूध उत्पादनमा कमी आएको हो । रोग सङ्क्रमणभएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उ्नले बताए ।
सङ्क्रमण बढ्दै गएका कारण प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको डा. आचार्यले बताए । हालसम्म २० हजार नौ सय १२ डोज खोप पशुमा लगाइएको छ ।
अहिले प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोप अभियानसमेत साताव्यापी रुपमा सञ्चालन गरिरहेको बताउँदै उनले सङ्क्रमणमा केही कमी आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया